प्रधानमन्त्री सुशीला कार्कीले राज्य विहीनता को फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चारू
लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट विमानस्थल अवरूद्ध बनेको थियो । जसका कारण उडान र अवतरण प्रणालीमा समस्या आएको थियो । हाल उक्त समस्या समाधान भएको छ ।
मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् । सोनलले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर‚ विश्वासको मत नपाउने निश्चित भएपश्चात् उनले प्रदेश सभा बैठकमै राजीनामा दिने घोषणा गरेका थिए । त्यसपश्चात् उनी प्रदेश प्रमुख सुवेदी समक्ष गएर राजीनामा पत्र बुझाएका थिए ।
सरकारले विशेष अपरेसन चलाउने
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने आश्वासन दिएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उनले सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्ने र सुरक्षा सङ्कट निम्तिन सक्ने भन्दै अहिलेको अवस्थाले ठुलो सन्देश दिएको बताए । सरकारले सञ्चालन गर्ने विशेष अपरेसनका लागि नागरिक स्तरबाट पनि सहयोग आवश्यक रहेको उनले बताए ।
तीन अर्ब ५५ करोडको क्षति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ । मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन् । मन्त्रालयले संकलन गरेको तथ्यांकका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार, मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।
नेपालद्वारा भारत पराजित
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात/सात रन बनाए । नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए ।
सांसदले दले आफ्नै अनुहारमा कालोमोसो
मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् ।

