Harsamaya
असोजको वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।

मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन् ।

मन्त्रालयले संकलन गरेको तथ्यांकका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार, मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।

खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार, काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइनेछ ।

मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट छैन । त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिए ।

उनका अनुसार, क्षतिको तथ्यांकका आधारमा अबका दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन एवं अनुसन्धान गरी विस्तृत रूपमा योजना बनाई कार्यान्वयन गरिनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update