Harsamaya
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप ।

एजेन्सी - तान्जानियामा हालै सम्पन्न चुनावपछि भड्किएको विरोध प्रदर्शनका केही दिनमै सरकारले २०० भन्दा बढी नागरिकमाथि देशद्रोहसम्बन्धी अभियोग लगाएको छ । 

एक वकिल र न्यायिक स्रोतहरूले ती सबै अभियुक्तलाई राजधानी दार एस सलामस्थित अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपति सामिया सुलुहु हसनले अक्टोबर २९ मा सम्पन्न मतदानमा ९८ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए । तर, निर्वाचनमा भाग लिनबाट वञ्चित गरिएका विपक्षी दलहरूले सो नतिजालाई ‘पूर्णतः नौटङ्की’ भन्दै अस्वीकार गरेका छन् ।

चुनावको दिन देशभरि प्रदर्शन र हिंसा सुरु भएको थियो । प्रत्यक्षदर्शी र स्रोतहरूले सयौँ नागरिक मारिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । सोही समयमा भएको एक दिन लामो इन्टरनेट अवरोधका कारण प्रमाणित जानकारी सार्वजनिक हुन सकेको थिएन ।

शुक्रबार दार एस सलामको अदालतमा सयौँ प्रदर्शनकारीलाई हाजिर गराइएको थियो । वकिल पिटर किबाटालाले भने, ‘समग्रमा २५० भन्दा बढी यी सबै महिला र सज्जनहरू तीनवटा छुट्टाछुट्टै मुद्दामा संलग्न छन् र तिनीहरू सबैमाथि दुईवटा अपराधको आरोप लगाइएको छ ।’ उनका अनुसार पहिलो आरोप ‘देशद्रोह गर्ने षड्यन्त्र’ र दोस्रो आरोप ‘प्रत्यक्ष देशद्रोह’ हो ।

कम्तीमा २४० जनामाथि आधिकारिक रूपमा अभियोग दर्ता भइसकेको न्यायिक स्रोतहरूले पुष्टि गरेका छन् । विपक्षी दल चदेमाले भने चुनावपछिको हिंसामा कम्तीमा ८०० जनाले ज्यान गुमाएका दाबी गरेको छ । कूटनीतिक तथा सुरक्षा स्रोतहरूले पनि त्यो अनुमानलाई समर्थन गर्दै वास्तविक सङ्ख्या हजारौँ पुग्न सक्ने बताएका छन् ।

अधिकारीहरूले हालसम्म मृतक वा घाइतेहरूको आधिकारिक तथ्यांक सार्वजनिक गर्न अस्वीकार गरेका छन् । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update