काठमाडौं - नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
मंगलबार बिहान सशस्त्र सीमा बल ५१औँ बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीय सोफिया उज्बेकोवा र उनको साथमा रहेका युवक सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ।
उनीहरूको साथबाट बिना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटर, दुई मोबाइल फोन र तीन देशका सिम कार्ड (भारत, नेपाल र उज्बेकिस्तान) बरामद गरिएको थियो । तर सोफियाको साथमा पासपोर्ट वा भिसा जस्ता कुनै आधिकारिक कागजात फेला परेको छैन ।
एसएसबीका अनुसार प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाडौँ हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सिमाना पार गरी भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ ।
सो यात्रामा उनलाई नेपाली युवक विकेशले सहयोग गरिरहेको एसएसबीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

