Harsamaya
कात्तिक १९: दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारी रह्यो । आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका थिए । कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । 

यो सँगै देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबिच भेट

प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जन निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताएकी थिइन् । त्यस क्रममा पूर्व राष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानै पर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखेका थिए । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राना पनि गरेका थिए ।

नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ । आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ । घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ ।

सकियो जाँचबुझ आयोगले लिएको रविको बयान 

उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् । दिउँसो करिव १ बजेबाट सुरू भएको उनको बयान ७ घण्टा भन्दा बढी समय चलेको थियो । बुधबार उनलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएर बयान गरिएको थियो । बयान पुश्चात् पुनः उनलाई कारागारनै लगिएको छ । उनले बयानपश्चात् शुभचिन्तकसँग छोटो प्रतिक्रिया दिँदै भने ,‘अहिले केही छैन । समय आउँदैछ । अनि बोल्छु ।’ जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।

चौथो खेलमा नेपाल युएइसँग चार विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । यससँगै नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा जीतविहीन बनेको छ । आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार विकेटले पराजित भएको थियो भने युएईसँग पाँच विकेटको हार बेहोरेको थियो । आज नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे ।

२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् । सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।

आईजीपी खापुङसँग स्पष्टीकरण

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपटक स्पष्टीकरण माग गरेको छ । यसअघि आयोगले प्रहरी प्रधान कार्यालयसँग भदौ २३ गते फिल्डमा खटिएका प्रहरी अधिकारीको रेकर्ड माग गरेको थियो । जवाफमा प्रहरी प्रधान कार्यालयले त्यस दिनमा जवानदेखि आईजीपीसम्मै फिल्डमा खटिएको जवाफ पठाएपछि आयोग रुष्ट बनेको छ । प्रहरीको जवाफ चित्त नबुझेपछि आयोगले बयानका लागि प्रहरी प्रमुखलाई नै बोलाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update