काठमाडौं - उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् । दिउँसो करिव १ बजेबाट सुरू भएको उनको बयान ७ घण्टा भन्दा बढी समय चलेको थियो ।
बुधबार उनलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएर बयान गरिएको थियो । बयान पुश्चात् पुनः उनलाई कारागारनै लगिएको छ । उनले बयानपश्चात् शुभचिन्तकसँग छोटो प्रतिक्रिया दिँदै भने ,‘अहिले केही छैन । समय आउँदैछ । अनि बोल्छु ।’
जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।
लामिछाने सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएपश्चात् अदालतको आदेश अनुसार कारागारमा रहेका छन् । उनी २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो ।

