काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जन निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताएकी थिइन् ।
त्यस क्रममा पूर्व राष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानै पर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखेका थिए । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राना पनि गरेका थिए ।
“राजनीतिक दलहरू चुनावमा जानै पर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो। तपाईँहरुले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरूसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ। निर्वाचन आयोगलाई बजेट दिनुभएको छ। बन्दोबस्तका सामग्रीको व्यवस्थापन भइरहेको छ। यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस्। नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ‚” पूर्व राष्ट्रपति यादवले भने।
२०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि उनले सुनाएको रावलले जानकारी दिए । साथै पूर्व राष्ट्रपति यादवले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरूबिचको समन्वयमा जोड दिएका थिए ।
दलहरूले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उनले बताए । “दलहरूलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन‚” यादवले भनेका थिए ।

