Harsamaya
नाचिन छाडे धाननाच
पूर्वी नेपालमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच ।

तेह्रथुम - पूर्वी नेपालमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए ।

उनका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउँछन् । उनका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ ।

धान नाच्दा पालाम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ । धाननाचमा पालाम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालाममा सृष्टि उत्पत्तिको प्रसङ्ग, मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र मायापिरतीसम्मका कुरा गरिन्छ ।

पालामी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाहसमेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भने, 'याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।'

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update