काठमाडौं - निर्देशक तथा कलाकार अमन प्रताप अधिकारीले ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेको स्वीकार गरेका छन् । उनले संसद् भवन आफूले जलाएको भन्ने आरोपको खण्डन भने गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले भिडियो लाइभ गर्दै उनले ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’ भनेको उल्लेख गरेका छन् । साथै उनले संसद् भवन अगाडि गोली चल्दा स्कुलको पोसाक लगाएका चार विद्यार्थी ढलेको र उनीहरूलाई गोली लागी सहिद भएको कुराले आफू आक्रोशित भएको उनले बताएका छन् ।
आफू २३ र २४ गते दुवै दिनको आन्दोलनमा सहभागी भएको स्विकार्दै उनले भनेका छन्‚ ‘भाद्र २३ मा जसले हाम्रा निहत्था बच्चाहरूको रगत बगायो, त्यो मानवताहीन र निरङ्कुश शासन सकियो भनेको हुँ।’
आफूले नयाँ युगको सुरुवात भएको भन्नुको अर्थ अन्यथा नलिन भन्दै उनले थपेका छन्-‘मैले भनेको केवल यति हो, त्यो पाशविक दमनको युग समाप्त भयो, र देशमा एउटा नयाँ युगको सुरुवात भयो। कृपया, मेरो भावनालाई अन्यथा नलिइदिनु होला।’

