
मुगु - जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा जुवा खेलिरहेका सात जनासहित एक लाखभन्दा बढि नगद बरामत गरेको छ ।
जुवाखालामा छापा मार्दा पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन्। घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद बरामद गरिएको प्रहरी कायालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको हो ।
प्रहरी नायब उपरीक्षक डीएसपी रबिन बाबु रेग्मीका अनुसार स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो । घटनास्थलमै सात जनालाई पक्राउ गरी नगद सहित आवश्यक सामग्री नियन्त्रणमा लिइएको उनले बताए ।
सदरमुकाम क्षेत्रमा पछिल्लो समय जुवातास लगायतका अवैध गतिविधि मौलाउँदै गएको भन्दै स्थानीय बासिन्दाले प्रहरीको कदमको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर अनुगमन र थप कडा कारबाहीको माग समेत गरेका छन्।
‘अपराधीलाई नछाड्ने हाम्रो नीति छ’, डीएसपी रेग्मीले भने ‘जुवा, सट्टेबाजी, लागुऔषध र अन्य गैरकानुनी क्रियाकलाप नियन्त्रणका लागि विशेष अभियान सञ्चालनमा छौँ।’
केही दिन अघि पनि जुम्लाका विभिन्न क्षेत्रमा प्रहरीले यस्तै कारबाही गर्दै जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।