-1760706090.jpg)
एजेन्सी - इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकहरूको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याएको छ ।
टर्कीले हमासको अनुरोधमा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोजीका लागि विशेषज्ञ टोली पठाएको छ । यो सहयोगलाई युद्धपछिको मानवीय उद्धार कार्यमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले हालसम्म २० जना जीवित बन्धक र २८ जना मृतकमध्ये नौ जनाको अवशेष फिर्ता गरेको छ । एउटा अतिरिक्त शव भने इजरायली अधिकारीहरूले ‘पूर्व बन्धकको नभएको’ बताएका छन् ।
बदलामा इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ र सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि सुरु गरिएको सैन्य अभियान रोकेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ‘सबै बन्धकको फिर्ती सुनिश्चित गर्ने दृढता’ दोहोर्याए । उनका रक्षामन्त्रीले चेतावनी दिँदै भने, ‘यदि हमासले सम्झौता तोड्यो भने सेनाले पुनः आक्रमण सुरु गर्नेछ ।’
त्यसै दिन हमासले पनि सम्झौता कार्यान्वयनमा आफ्नो अटल प्रतिबद्धता दोहोर्याउँदै बाँकी शवहरू फिर्ता गर्ने तयारीमा रहेको बतायो । तर समूहले ध्वस्त भवनहरू, बम प्रहारका भग्नावशेष र सुरुङहरूमा गाडिएका शवहरू निकाल्न समय लाग्ने चेतावनी दिएको छ ।
टर्कीले यस उद्धारका लागि दर्जनौँ प्रकोप राहत विशेषज्ञहरू गाजामा पठाएको छ । यद्यपि इजरायली मृतकका परिवारहरूले प्रियजनहरूको अवशेष फिर्ता गर्न ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।