
सर्लाही - मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् ।
बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।
बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।
सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एक एक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ ।
यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।