Harsamaya
शव पहिचानमा डीएनएको सहारा, बेपत्ताका आफन्तलाई प्रहरीको यस्तो आग्रह
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

नेपाल प्रहरीले नेपाल तथा विदेशमा रहेका बेपत्ता नागरिकका बाबु, आमा, छोरा वा छोरीमध्ये एक जना पहिलो तहका आफन्तको डीएनए नमुना संकलन गर्न आग्रह गरेको छ।

नेपालमा रहेका आफन्तले दुई प्रति पासपोर्ट आकारको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको रोगविज्ञान प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर रगतको नमुना दिन सक्नेछन्।

विदेशमा रहेका आफन्तले आफू बसेको देशको अधिकृत प्रयोगशालामा डीएनए परीक्षण गराई त्यसको विवरण नेपाल प्रहरीको [email protected] इमेलमा पठाउन सक्ने प्रहरीले जनाएको छ।

डीएनए मिलानका लागि बेपत्ता व्यक्तिको पूरा नाम, परिचय खुल्ने कागजात, हराएको मिति तथा स्थान, डीएनए परीक्षण प्रतिवेदन र आफन्तसँगको सम्बन्धसम्बन्धी विवरण उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update