काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र सभापति गगन थापाबीच आज भेटवार्ता भएको छ। आज दिउँसो १२ः३० बजे भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अहिले कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका छन् ।
उनले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको स्पष्ट पारेका थिए ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए । दुई नेताबीच पार्टीभित्रका समस्या आपसी समझदारी र संवादमार्फत समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा कुराकानी भएको जनाइएको छ।
भेटवार्तामा २०८३ भदौ १० गते बुधबार नेपाल–चीन सीमा क्षेत्र रसुवामा आएको विनाशकारी बाढी तथा त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे समेत छलफल भएको थियो।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि गर्नुपर्ने पहल र कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ।

