Harsamaya
कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ !
ग्राफिक्स : हर समय/Har Samaya

हजार हैन करोडौंमा, तिमी नै छौं एक,
नजर जुध्दै दिल बस्ने, पहाड हौं कि लेक,
मनको कुना भरिदिने, अचम्मैको धन छ,
तिम्रा कुरा तिमीलाई नै, सुनाउन मन छ ।

हरेक कुरा खास लाग्छ, वाणी मिठास उस्तै,
वर्षाद पछि खुलेको त्यो, नीलो गगन जस्तै,
आवरण नै लोभ्याउने, उस्तै अन्तर-मन छ,
तिम्रा कुरा तिमीलाई नै, सुनाउन मन छ ।

मैतालुकी दुलहीको, सुन्दर मुहार जस्तो,
अनगिन्ती सपनाको, पूर्ण वहार जस्तो,
राजकुमार नै हौ कि कतै, मुहारले भन्छ,
तिम्रा कुरा तिमीलाई नै, सुनाउन मन छ ।

तिम्रो मन्द मुस्कान देख्दा, उदासीपन भाग्ने,
आँकुरा पो हौं कि कतै, छुँदै दाग लाग्ने,
तुलना नै हुन्न रैछ, आफ्नै फरक-पन छ,
तिम्रा कुरा तिमीलाई नै, सुनाउन मन छ ।

सबैलाई मोहित पार्ने, नायक नै पो हौं कि,
मेरै मनको धुन गाउने,गायक नै पो हौं कि,
विचारको धनी तिमी, अलौकिक ज्ञान छ,
तिम्रा कुरा तिमीलाई न‌ै, सुनाउन मन छ ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update