
उर्लदो खहरेको बेग थेग्न नसकेर
कुहिएको जरा लिई ठिङ्ग उभिएको,
अस्तित्व हराएर लडखडाएको,
अनि, पखेटा काटिएर,
स्वतन्त्र छाडिएको पन्क्षी जस्तो,
यो जीन्दगी, खै के जीन्दगी ?
प्रचण्ड गर्मीको वाफिलो रापमा,
धड्कन समेत धरौटीमा राख्दै,
श्वासको गति पनि सापटी लिई ,
मरुभुमिमा पल पल मर्दै गरेका जीव ,अनि,
सुर हराएको सारङ्गीको बेसुरा धुन जस्तो,
यो जीन्दगी, खै के जीन्दगी ?
रहरहरु सँगै सहर जलिरहेछन,
आक्रोशित भिड थेग्न नसकेर,
मुहार लुकाउँदै,आँसु चुहाउनु पर्ने,
सम्भावनाका अपूर्ण रहर बोकी,
रश निचोरिएर मिल्काईएको कागती जस्तो,
यो जीन्दगी, खै के जीन्दगी ?
बाटो धमिल्याउदै, बगिरहेका पहाडहरु,
अवरुद्ध मार्गका, छरपस्ट बटुवाहरु,
अवतरण नपाएर आकाशमै कचल्टिएका,
जहाज भित्रका विक्षिप्त मथिङ्गलहरु,अनि
चिटचिटाहटले रसाएका आँखाका कोष जस्तो,
यो जीन्दगी, खै के जीन्दगी ?
पराधिनतामा चेप्टिएको,
एक थोपा आँसु पनि ईसारामा झार्नुपर्ने,
निस्तेज, निर्विकल्प अनि निसहाय,
दुनियासँगको नाता बिर्सिई,
आलुबारीमा ठिङ्गीएको बुख्याचा जस्तो,
यो जीन्दगी, खै के जीन्दगी ?