Harsamaya
स्रष्टा वा लेखक कुनै राजनीतिक दल, धर्म–सम्प्रदायको मात्र हुँदैन :  घिमिरे

कविता, गजल, गीत र निबन्ध विधामा कलम चलाउँदै आएका विद्याप्रसाद घिमिरेको जन्मस्थान लमजुङको श्रीमञ्जाङ् हो । वि.सं. २०२२ माघ १० गते जन्मेका उनको हालसम्म उनका करिब दुई दर्जन गीत सङ्गीतबद्ध भई उदित नारायण झा, आनन्द कार्की, राजेश पायल राई, स्वरूपराज आचार्य, अन्जु पन्त, जगदीश समाल, कोशिस क्षेत्री, नरहरि प्रेमी, वीरेन्द्र जोहरी, नवीनकिशोर प्रधान, यमुना पुन मगर, विश्वनाथ झालगायतका गायक/गायिकाको आवाजमा गीत रेकर्ड भई विभिन्न टेलिभिजन तथा रेडियो स्टेसनबाट प्रसारण भइरहेको छ । विभिन्न साहित्यिक पत्रपत्रिकामा उपर्युक्त विधाका साहित्यिक सिर्जना प्रकाशन गरेका उनको वि.सं. २०६१ मा एकै वचन नामको संयुक्त गीति एल्बम सार्वजनिक भइसकेको छ । यस्तै प्रतिविम्ब नामक आधुनिक तथा राष्ट्रिय गीत र भजनसमेत रहेको सोलो एल्बम सार्वजनिक हुने अन्तिम तयारीमा छ ।

सेलाएको घाम (कविता सङ्ग्रह), चोइटिएको मुटु (गीत सङ्ग्रह), छैटौँ इन्द्रिय (निबन्ध सङ्ग्रह) र पत्थरको देवता (निबन्ध सङ्ग्रह) नामक उनका कृति बजारमा आइसकेका छन् भने हराएको बुद्ध (कथा सङ्ग्रह) प्रकाशनको तयारीमा रहेको छ ।  उनै स्रष्टा घिमिरेसँग हरसमयका जयराम सापकोटाले गरेको कुराकानी ।  

तपाईंंलाई मन पर्ने पुस्तक कुन कुन हुन् ?

विशेषतः हरेक पुस्तकमा समेटिएका विषयवस्तुले समाजमा केही न केही सकारात्मक प्रभाव छोड्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ । पुस्तक पढिसकेपछि त्यसले पाठकलाई कस्तो प्रभाव छोड्न सक्यो भन्ने महत्त्वपूर्ण हुन्छ । मानिसलाई जीवन दर्शनको पाठ सिकाउने पुस्तक मेरो रोजाइमा पर्छन् । पुस्तकको नाममा जानुभन्दा समाज र व्यक्तिलाई युगानुकूल परिवर्तन गराउन सक्ने जुनसुकै पुस्तक मलाई मन पर्छ ।

लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ?

प्रायः म आफैँले छनोट गरेको विषयमा लेख्न रुचाउँछु । कहिलेकाहीँ समाजमा देखिने विकृति, विसङ्गति, राजनीतिक अराजकता र अस्तव्यस्तलाई देख्दा मभित्र रहेको लेखकीय प्रवृत्तिले लेख्नका लागि अभिप्रेरित गरिरहन्छ । त्यति बेला भने लेख्नै पर्ने बाध्यात्मक स्थिति महसुस गर्छु र सम्बन्धित विषय चयन गरेर त्यसैको सेरोफेरोमा रहेर लेख्छु ।

यहाँ आफ्ना रचनामा कलावादी कि जीवनवादी ?

वास्तवमा हरेक सर्जकको सिर्जनाभित्र कुनै न कुनै रूपमा कला र जीवन समेटिएर प्रस्फुटन हुन्छ । एउटा सर्जकले सिर्जिएको साहित्यिक सम्पत्ति समाजका लागि हो । आजको समाजले हरेक साहित्यिक सिर्जनामा कला र जीवनको मिश्रित स्वाद खोजिरहेको हुन्छ । तसर्थ कला र जीवनविनाको साहित्य जीवन्त हुँदैन । कला र जीवन नभएको रचनाले साहित्यमा पूर्णता दिन सक्दैन । साहित्यलाई कलात्मक तवरले जीवन्त बनाउने रहर हरेक साहित्यकारमा नजानिँदो गरी लुकेर रहेको हुन्छ– जुन स्वभाव मभित्र पनि होला !

वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व वहन गर्न सकेका छन् कि छैनन् ?

लेखकको सिर्जना समाजको ऐना हो । एउटा लेखकले समाजमा जे देख्छ– त्यसलाई कहिले कलात्मक रूपले सिँगारेर पस्किन्छ त कहिले व्यङ्ग्यमिश्रित खुराक बनाएर समाजलाई जगाउने प्रयास गर्छ । तसर्थ मलाई लाग्छ– अधिकांश लेखकमा आफ्नो दायित्व बुझ्ने सामर्थ्य छ र त उहाँहरूले आफ्नो धर्म निर्वाह गरिरहनुभएको छ । यदाकदा केही लेखक तथा सर्जकबाट सामाजिक सद्भाव बिथोल्ने, राष्ट्र र राष्ट्रियताप्रति आँच आउने तथा जनआस्थामा आघात पुग्ने प्रकृतिका लेख रचना आउने गरेको देखिन्छ । यस्तो प्रवृत्ति लेखकीय जिम्मेवारीमा पर्छ कि पर्दैन भनेर लेख्नुअघि उहाँहरूले सोच्नुपर्छ । यदि यस्ता लेख लेखिन्छन् भने त्यसमा लेखिएका कुरालाई सशक्त तर्क प्रस्तुत गरी बुझाउने सामर्थ्य लेखकमा हुनुपर्छ । अन्यथा समाजले लेखकमाथि आशङ्का गर्छ । यसबाट समाजमा पर्न गएको क्षति र यसको अपजस सबै लेखकमाथि थोपरिन्छ । लेखकीय पक्षलाई आधार बनाएर कुनै लेखकको विरोध हुनु भनेको कि उसको लेखकीय पक्ष कमजोर छ भन्ने हो कि भने लेखक कुनै शक्तिबाट परिचालित छ भन्ने बुझ्नुपर्छ । यदाकदा केही लेखक लालच र प्रलोभनको सिकार भइदिँदा उनीहरूबाट पक्षपातपूर्ण लेख आउने गरेको पाइन्छ– जुन खेदपूर्ण छ ।

आफ्ना कृतिबारे गरिएको समालोचना र मूल्याङ्कन ठिक छ जस्तो लाग्छ कि लाग्दैन ?

समालोचना सर्जकको आँखा, नाक, कान, मुख सबै हो । समालोचनाले सर्जकलाई नयाँ सम्भावनातर्फ उन्मुख गराउँछ । केही लेखकमा आफूले लेखेको सिर्जना जस्तो भए पनि ठिक भनिदिए खुसी हुने र खोट औँल्याइदिए रिसाउने प्रवृत्ति देखिन्छ– जुन लेखकका लागि घातक हो । समालोचना स्रष्टाद्वारा सिर्जित रचनाको मूल्याङ्कन हो– जसले आगामी दिनमा सर्जकलाई अघि बढ्ने बाटो देखाउँछ । समालोचनाबाट दुःखी र हतोत्साहित हुने भए आफू लेख्ने, आफैँ पढ्ने अनि आफैँ वाह वाही गर्दै रमाए भइहाल्यो नि । समाजका लागि लेख्ने हो भने समाजले गरेको मूल्याङ्कनलाई स्वीकार गर्ने हिम्मत लेखकमा हुनुपर्छ ।

अहिले र पहिलेको साहित्यलाई तुलना गरी हेर्नुपर्दा कस्तो भिन्नता पाउनुहुन्छ ?

साहित्य भनेको सर्जकको अन्तर आत्माको आवाज हो । मानव जीवनको कोमल पाटो मानिने संवेदनशीलता, भावना, उद्वेगको समष्टि रूप नै साहित्य हो । तसर्थ यसमा समयले खासै फरक पारेको हुँदैन । माया प्रेम; सु:ख दुःख तथा पीडा, खुसीजस्ता संवेदनाका पक्ष हिजोका मानिसमा पनि थियो र अहिले पनि छ । फरक यत्ति मात्र हो कि प्रेम, खुसी, दुःख अभिव्यक्ति गर्ने शैली हिजो र आजमा फरक हुन सक्छ । यसले हिजो र आजको साहित्यमा केही पृथक्ता अवश्य ल्याएको छ । हिजो प्रियसीको पाउ, आँखाको गाजल र घुम्टोभित्रको मुहार देखेर रचिने साहित्यले रोमाञ्चित गराइदिने जमाना थियो । तर अहिले यस्ता साहित्यले मानिसको मनमस्तिष्कलाई झकझक्याउन नसक्ने अवस्था छ । प्रस्तुतिको शैलीमा अवश्य पनि केही परिवर्तन ल्याउनु जरुरी छ, यसलाई समयको माग हो भन्ने बुझी सर्जकले त्यसै अनुरूपको सिर्जना गर्न सक्नुपर्छ । यसबाहेक अन्य भिन्नता म केही देख्दिनँ । पछिल्लो समयमा केही नयाँ/नयाँ साहित्यिक विधा देखिएका छन् । यो विश्वव्यापीकरणको प्रभाव हो । यसले साहित्यकार र लेखकलाई थप सजग र होसियार बनाएको छ ।

तपाईँको विचारमा कस्तो साहित्य लेखिनुपर्छ जस्तो लाग्छ ? 

समाज अहिले दिशाविहीन बन्दै गएको छ । यस अवस्थामा लेखक तथा साहित्यकारको काँधमा जिम्मेवारी थपिएको छ । अबका दिनमा समाजलाई सही दिशानिर्देश गराउने विषयमा लेखकहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । लेखकले उठाएका विषयवस्तु केवल छापामा मात्र सीमित हुने होइन । रङ्गमञ्चमा मञ्चन हुने नाटकदेखि लिएर ठूला सिनेमा भवनमा प्रदर्शन हुने टेलिभिजन तथा चलचित्रको पर्दामा प्रसारण हुने लघु चलचित्र पनि लेखककै सिर्जना हो । यस्ता सिर्जनाले मानिसको भावनामा गहिरो छाप छोड्न सक्छ, समाजलाई ब्युँझाउन सक्छ । तसर्थ अहिले हाम्रो नयाँ पुस्ताले सभ्यताको नाममा जसरी आयातित संस्कृतिको आधुनीकीकरण गरिरहेको छ अब पनि यही क्रम रहिरह्यो भने हामीले गर्व गर्ने हाम्रा चाडपर्व र मौलिक परम्परा लोप हुँदै जान्छन् । केही समयपछि नेपालीले विदेशको पुस्तकालयबाट पुस्तक ल्याएर त्यसै भित्र आफूलाई खोज्नुपर्ने हुन सक्छ । यो भयावह स्थिति आउनुअघि नै समाजलाई खबरदारी गर्दै चेतना जगाउन लेखकले आफ्नो प्रयासबाट गर्न सक्ने कुरा धेरै छन् । लेखकहरूले अहिलेको यस यथार्थलाई गम्भीरतापूर्वक मनन गरेर कलम चलाउनु जरुरी छ ।

पठनपाठन र लेखनमा रुचि बढाइदिने कोही थिए ? 

वास्तवमा विवाहपछि मेरो लेखनले औपचारिक स्वरूप लिएको हो । मेरो सिर्जनाको थलो भनेकै घर हो । लेखनमा लेखकीय वातावरणको ठूलो भूमिका रहन्छ । लेखनमा कुनै व्यवधान नल्याई घरलाई लेखकीय वातावरण सुहाउँदो बनाउन घरका सदस्यको ठूलो हात हुन्छ । लेखकलाई नजिकको कुनै व्यक्तिको प्रोत्साहन र लेख्ने वातावरणले छुट्टै ऊर्जा दिइरहेको हुन्छ । यिनै पक्षले लेखकलाई लेखनप्रति अभिरुचि जगाउने काम गर्दछ । यसर्थ मेरो लेखनमा मलाई हर सम्भव साथ र सहयोग दिई लेखकीय वातावरण उपलब्ध गराउने व्यक्तिका रूपमा जीवन सङ्गिनीको नाम लिन रुचाउँछु । म आजको अवस्थामा आइपुग्न उनको सहयोगले विशेष महत्त्व राखेको छ । यसका साथै मलाई लेख्नका लागि बाध्य बनाउने  धेरै मित्र हुनुहुन्छ । उहाँहरू सबैले कुनै न कुनै रूपमा मलाई प्रेरणा दिई सहयोग गर्नुभएको छ ।

तपाईँ आफ्ना कृतिबाट कतिसम्म सन्तुष्ट हुनुहुन्छ ?

म आफ्ना कृतिबाट कहिल्यै सन्तुष्ट छैन । सधैँ मलाई आफ्ना रचना अपूर्ण लाग्छन् । शायद यसै असन्तुष्टिले मलाई लेख्न अभिप्रेरित गरिरहेझैँ लाग्छ र लेखनबाट सन्तुष्ट हुने लालसामा लेख्न थाल्छु र लेखिरहेको छु । मलाई लाग्छ– एउटा सर्जक आफ्नो सिर्जनामा कहिल्यै सन्तुष्ट हुँदैन र हुनु हुँदैन पनि । जब सर्जकले आफ्नो सिर्जनामा सन्तुष्टि भेट्छ– त्यसपछि उसको लेखन–यात्राले विश्राम लिन्छ । जसले जुन मोडबाट तर्क सुरु गरे पनि मूल कुरो के भने सर्जकले आत्मसन्तुष्टिका लागि सिर्जना गरिरहेको हुन्छ, जब ऊ सन्तुष्ट हुन्छ त्यसपछि लेख्ने कुरो केही पनि हुँदैन ।

भनिन्छ– हामीकहाँ लेखक आफैँ पाठक, आफैँ प्रकाशक र विक्रेतासमेत हुनुपर्ने स्थिति छ । यस अवस्थामा आफ्नो लेखकीय अस्तित्वलाई स्थापित गर्न कत्तिको कठिनाइ छ ?

यथार्थ स्थितिको सन्दर्भ उठाउनुभयो । यो नेपाली साहित्यकार र लेखकहरूले भोग्दै आएको नमिठो यथार्थ हो । अर्को एउटा दुःखलाग्दो पाटो पनि हामीकहाँ छ । हामीमा अरूको विचारलाई पढ्ने संस्कार छैन । पाठकभन्दा लेखकको सङ्ख्या बढी देखिन्छ । अरूको पुस्तक पढ्ने र त्यसमा अभिव्यक्त विचारका राम्रा र नराम्रा पक्षबारे चिन्तन, मनन गर्ने प्रवृत्ति तुलनात्मक रूपमा हामीकहाँ कम देखिन्छ । पाठकको सङ्ख्या न्यून भएपछि लेखकहरू आफैँ पाठक र प्रकाशक बन्नु अस्वाभाविक होइन । यस्तो स्थितिमा बजार व्यवस्थापन पनि लेखककै जिम्मेवारीमा आउँछ । नेपाली साहित्यिक क्षेत्रमा देखिएको यस अवस्थामा लेखकीय अस्तित्व कायम राख्न कठिन त हुन्छ नै । यसमा सुधार ल्याउन पाठकहरूको सङ्ख्या वृद्धि गराउनु जरुरी छ । पाठकलाई पढ्नमा आकर्षण गराउने प्रयास हुनुपर्दछ । लेखकहरूले पनि पाठकको भावनालाई बुझेर स्वास्थ्य र सन्देशमूलक विषयवस्तु चयन गरी लेख्ने बानी बसाल्नुपर्दछ ।

लेख्न बस्दाको तयारी र लेख्ने दैनिक तालिकाबारे केही भनिदिनुस् न ?

साहित्य सिर्जना एउटा घटना हो । यो कुन समय कस्तो स्थानमा घट्छ भनेर पहिले नै अनुमान लगाउन सकिँदैन । एउटा स्रष्टाले बाटोमा हिँडिरहेको बेला कुनै घटना देख्यो वा कुनै परिस्थितिलाई सम्झिन पुग्यो भने उसको मन मस्तिष्क झक्झकिन्छ, त्यसै बेला ऊभित्र तत्काल साहित्य प्रस्फुटन हुन्छ । यसका लागि समय तालिकाले कुनै महत्त्व राख्दैन र समय तालिका बनाएर साहित्य सिर्जना हुन सक्दैन भन्ने मेरो मान्यता छ । तर पनि म विशेष गरी राति नै बढी जसो लेख्छु । दिउसो कुनै घटनाले छोएको छ भने त्यसलाई टिपोट गर्छु र साँझ घर पुगेपछि दिउसो टिपोट गर्दाको परिवेशमा आफूलाई पुर्‍याई लिपिबद्ध गर्न थाल्छु । लेखन र साहित्य सिर्जनाका लागि मैले साँझको शान्त समय छुट्टाएको छु ।

लामो समय लेखनमा बिताइसक्नुभयो, कस्तो लाग्छ ?

ठिकै लाग्छ, लेखन र सिर्जनामा आत्मसन्तुष्टि भेटिरहेको छु । आखिर एउटा लेखकका लागि ऊर्जा भनेको आत्मसन्तुष्टि नै रहेछ । यसैले प्रेरित गराइरहेको छ र लेखिरहेको छु ।

को को लेखकबाट प्रभावित हुनुहुन्छ ?

म केही दर्शनवादीका दर्शन र विचारबाट प्रभावित छु । अध्यात्म दर्शन र जीवन दर्शनलाई विभिन्न कोणबाट केलाइएका सामग्रीप्रति मेरो विशेष अभिरुचि छ । पूर्वीय दर्शन र पश्चिमी बिचार बिचको तादात्म्यबारे खोज गरिएका सामग्रीले मलाई आकर्षित गर्छन् । चर्चित दर्शनवादीमध्ये सिग्मन्ड फ्रायड, फ्रेडरिक नित्से, काल्र्स गुस्ताव युङ, इमेन्युअल कान्ट, जर्ज गुरजिएफका विचार र साहित्यका माध्यमबाट दर्शनको स्वाद दिलाउने लियो टोल्स्टाय, ब्रस्टे«ड रसल, खलिल जिब्रानजस्ता जीवनवादी लेखक एवम् धर्म–दर्शनका प्राचीन विद्वान्मा कन्फ्युसियस, ताओ, लोआत्से आदिको विचार र दर्शन मलाई मन पर्छ ।

तपाईँले लेखेका गजलमध्ये कुन कुन गजल श्रोताले बढी मन पराएका छन् ?

यो त मलाई भन्दा श्रोताको माझमा राख्नुपर्ने प्रश्न हो । तापनि यसबारे केही चर्चा गरिहालौँ । हालै मात्र मेरो एउटा “आउँदै छु प्रिय परेलीभित्र मलाई राख्नु है” बोलको गजल रेकर्डिङ र छायाङ्कनसमेत भई सार्वजनिक भई टेलिभिजन र रेडियोबाट प्रसारण भइरहेको छ । वरिष्ठ गायक आनन्द कार्कीले गाउनुभएको उक्त गजल श्रोताहरूले मन पराउनुभएको छ । केही समयअघि ‘मधुपर्क’मा प्रकाशित “यसलाई के भेट भनूँ भेटघाट बाँकी नै छ” बोलको गजल पनि धेरैले मन पराउनुभएको गजलमध्येमा पर्छ ।

अहिले के काम गरिरहनुभएको छ ?

एउटा कथासङ्ग्रह र एउटा गीति एल्बम चाँडै नै सार्वजनिक गर्ने तयारीमा छु र अहिले त्यही काममा लागेको छु । समसामयिक लेख र गीत, गजललगायतका साहित्य सिर्जनालाई पनि समय दिइरहेको छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?

मुलुकको हरेक पक्षमा राष्ट्र उत्तिकै जिम्मेवार हुनुपर्छ, राज्यले सबै पक्षमा समान दायित्व निर्वाह गर्न सक्नुपर्छ । एउटा स्रष्टा कुनै अमुक राजनीतिक दल, धर्म–सम्प्रदायको मात्र हुँदैन । ऊ देश, जात, धर्म, राजनीति, सम्प्रदायजस्ता सीमा र परिधिको सङ्कीर्ण घेराभन्दा माथि हुन्छ । आपूmले मान्दै आएको धर्म, आफू बस्दै आएको समाज वा जातमा विकृति देखिएमा कलमको माध्यमबाट उसले सचेतना फौलाउने काम गरिरहेको हुन्छ, हरेक विकृति, विसङ्गतिप्रति उसले टिप्पणी गरिरहेको हुन्छ । तर हामीकहाँ लेखक र स्रष्टालाई राज्यले हेर्ने स्पष्ट दृष्टिकोण छैन । हरेक क्षेत्रमा राजनीति भित्रिँदै जाँदा साहित्यिक क्षेत्र  पनि राजनीतिक प्रदूषणबाट ग्रसित छ । यसले स्रष्टालाई राजनीतिको कित्तामा उभिन बाध्य बनाएको छ । स्रष्टाहरूमा पनि स्वार्थपूर्तिका लागि स्वेच्छापूर्वक राजनीतिज्ञको ढोका चाहर्ने प्रवृत्ति विकसित हुँदै छ । अन्य विकल्प केही नभएपछि उनीहरू पनि के गरून् ? अर्कोतर्फ साहित्यिक प्रवर्द्धन र स्रष्टाको प्रोत्साहनका लागि राज्यको तर्पmबाट पुरस्कार तथा सम्मानको व्यवस्था गरिनुपर्ने हो तर यतातिर कसैको ध्यान गएको पाइन्न । हालसम्म जे जति भएको छ– ती सबै स्रष्टाकै सामूहिक प्रयासमा भएको हो । प्रोत्साहन र प्रवर्द्धनको त कुरै छोडौँ राज्यले स्रष्टाप्रति गर्ने व्यवहार नै तेस्रो दर्जाको नागरिकलाई गर्ने व्यवहारजस्तो लाग्छ । राजनीतिकर्मीलाई सामान्य रुघाखोकी लाग्दा उपचार भन्दै राज्य कोषबाट खर्च जुटाई परिवारसहित विदेशस्थित सुविधा सम्पन्न अस्पतालमा पठाउने राष्ट्रले एउटा सम्मानित स्रष्टा रोगले थलिएर मर्न लाग्दा फर्किएर हेर्नेसम्म दायित्व ठान्दैन । यो अवस्थालाई मात्र हेर्ने हो भने पनि स्रष्टाप्रति राज्यले हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ । तसर्थ यस्ता विषयमा राज्य गम्भीर हुनु आवश्यक छ ।

सृजनामा सजीवता र काल्पनिकता कुन बढी हुनुपर्छ ?

कल्पनालाई आधार मानेर रचिएको सिर्जना पनि सुन्दर हुन्छन् । किनभने साहित्य सिर्जनामा फूललाई प्रियसीको सुन्दर मुहारसँग तुलना गर्न सकिन्छ भमरालाई प्रेमीको प्रतीक मानेर प्रस्तुत गर्न सकिन्छ । साहित्यमा नदी र हावाले संवाद गर्छ, ढुङ्गो रुन्छ । तर यथार्थको संसारमा यस्ता कल्पनाले कुनै महत्त्व राख्दैन । त्यसैले कोरा कल्पनामा सिर्जित साहित्य सुन्दर हुनसक्छ तर वास्तविक प्रसङ्गलाई साहित्य सिर्जनामा समेट्न सके सिर्जना जीवन्त बन्छ र यसले सर्जकको उचाइ बढाउँछ भन्ने लाग्छ । त्यसैले काल्पनिकभन्दा सजीव साहित्यप्रति मेरो आकर्षण छ ।

नयाँ लेखकलाई के सुझाव दिनुहुन्छ ?

सङ्गीत, कला र साहित्य लेखनको संसार वास्तवमै अलौकिक र अद्वितीय छ । यसमा प्रवेश गर्नु भनेको सुन्दर जीवनको सुरूआत हो । तपाईँ हामीले अँगालेको यो क्षेत्रलाई अझ सुन्दर र सम्मानित बनाउने जिम्मा तपाईँ हाम्रो नै हो । त्यसैले यस क्षेत्रलाई राजनीतिक प्रदूषणबाट मुक्त बनाऔँ । विकृति र उच्छृङ्खलताले भरिएका सामग्रीलाई साहित्यमा स्थान नदिऔँ । समाजलाई ब्युँझाउने र सचेतना जगाउने खालका विषयमा साहित्य सिर्जना गर्ने बानी बसालौँ । अरूको सिर्जना हेर्ने र पढ्ने गरौँ साथै सिर्जनामा अभिव्यक्त विचारलाई मनन गरी ठिक/बेठीक छुट्याउने परिपाटी बसालौँ । क्षणिक वाह वाही र स्वार्थ निहित गतिविधिको पछि लागेर सिङ्गो लेखन–क्षेत्रलाई अस्वस्थ र अमर्यादित नबनाऔँ । यति मात्र गर्न सकियो भने भोलिको दिनमा लेखन क्षेत्र र यस क्षेत्रमा लागेका व्यक्तिको स्थान तुलनात्मक रूपले आजको भन्दा सम्मानित हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update