
निस्पट्ट अन्धकार
निसास्सिएका नयनहरु,
अन्तरङ्गमा मडारिएका खुलदुलीहरु,
अनि,
नेपथ्यमा चर्किएका गुञ्जनहरु,
क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु,
कठै! नाबालिका बलात्कृत भईन् रे,
अभियुक्तकी आमाको अट्टहास,
हे दैव! मेरो कोख किन बाँझै रहेन ?
निलो आकाशमा सफेद जहाज,
क्षणभरमै कल्पनाको सहरमा,
ठूलो परिधी भित्रको, सानो ब्रम्हाण्ड,
मानसिक सन्तुलन गुमाए झैं,
सन्नाटापछि उत्सर्जित तर्कहरु,
सृष्टिकर्ताकी आमाको रौम्य खुसी,
दाम्रीएका छाति भित्रको दमीत चाह,
अनि,अट्टहास हाँसो,
आहा! मेरो कोख पुन:किन भरिएन ?
पसल चोरी भयो अरे,
मान्छेले मान्छे टुक्रा पार्यो अरे,
टोलभरी हल्ला खेती छरपस्ट,
आपराधिक गतिविधि यत्र तत्र,
दर्दले दुखेको छाती नियाल्न नपाउँदै,
नालीमा भ्रुण फालिएको हल्लाले,
भ्रुणकी आमाकी आमाको पीडा,
भन्छिन् दैव! कस्तो कोख रहेछ मेरो ?
कोख एउटै, अभिष्ट फरक,
एउटी आमा, कोखप्रति गर्व गर्छिन्,
अर्की आमा, कोखलाई दुत्कार्छिन्,
निशेचीत आमा, तनावै तनावमा,
धर्तीमा अर्को भ्रुण पैदा गर्छिन्,
कल्पन्छिन्, यो त ठूलो मान्छे बन्छ।
हो! ठूलो त बन्ला नै, तर,
दुत्कारी बन्छ वा सत्कारी,
नामी बन्छ वा दुर्नामी,
गुणी बन्छ वा दुर्गुणी,
क्षितिज नियाल्दै छिन् आमा,
सपनाका महलहरुमा तला थप्दैछिन्,
हल्ला फैलन्छ सहरमा,
युवती अर्धनग्न मृत भेटिईन् रे,
आमाको उही रोदन,
हे ईश्वर!
कान देउ श्रवण नदेउ; मुख देउ, वाणी नदेउ,
नयन देउ दृष्टि नदेउ; नसा देउ, रगत नदेउ,
असह्य भो अब, बोझ भए सबै, मृत्यु देउ।
दर्दनाक यथार्थ सम्हाल्न, अब मलाई मृत्यु देउ !