Harsamaya
करिब ४७५ किलो गाँजा सहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनुषा - विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४७५ किलोग्राम सहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्रबजारस्थित सडकमा रोकी राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक बिराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो । 

साथै थप अनुसन्धानको उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका-३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुल्न आएपश्चात उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update