
वि.सं. २०५२ मा ‘जीवनयात्रा’ शीर्षकको नियात्रा प्रकाशन गरेर साहित्य सिर्जनामा लागेकी हुन् सत्य पहाडी । वि.सं.२०३४ असोज ७ गते त्रिपुरासुन्दरी नगरपालिका–१० लिकु, डोल्पामा जन्मिएकी हुन् । कविता, गीत र निबन्ध लेखनमा अग्रसर उनका आगो, लाभा र हुरी (कविता सङ्ग्रह), फर्जीका विरुद्ध (कविता सङ्ग्रह), मृत्युञ्जयी यात्रा (संस्मरण सङ्ग्रह), पर्खालभित्रको सन्देश (सामूहिक प्रकाशन) का साथै दश वटा कृतिको सङ्ग्रह सत्य सञ्चयन पनि प्रकाशन भएको छ । गत चैत्र महिनामा सार्वजनिक भएको कृति सत्य सञ्चयनमा तीन कविता सङ्ग्रह, चार संस्मरण सङ्ग्रह, एक डायरी, एक लेख सङ्ग्रह र एक जनयुद्धकालीन पत्रको सङ्ग्रह गरी जम्मा दश कृति समेटिएका छन् ।
आगो, लाभा र हुरी, फर्जीका विरुद्ध र समयका यक्ष प्रश्नहरू (कविता सङ्ग्रह), मृत्युञ्जयी यात्रा, उत्सर्ग गाथा, बेइजिङदेखि बालीसम्म, आमा (एक जीवनदर्शन) एक कमान्डर (संस्मरण सङ्ग्रह), महात्रासदी कोभिड १९ को डायरी, जनयुद्ध, शान्ति र शिक्षाहरू (लेख सङ्ग्रह) र जनसमरका पत्र नामक कृतिका स्रष्टा पहाडी साहित्यिक प्रतिभा पुरस्कार र इच्छुक प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छिन् । सत्य सञ्चयनको सम्पादन कवि राजकुमार कुँवरले गरेका हुन् । उनै पहाडीसँग हरसमयका जयराम सापकोटाले गरेको कुराकानी ।
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ? कसबाट र कसरी प्रभावित हुनुभयो ?
विक्रम संवत् २०४६ मा विद्यालयमा गाएको सेतो पटुकी भन्ने गीतमा प्रथम स्थानसहित पुरस्कृत भएपछि साहित्य यात्रामा आउन थप प्रेरित भएँ । मेरा माइला दाइ शिक्षक हुनुहुन्थ्यो । उहाँले मलाई लेख्नका लागि सधैँ प्रेरित गर्नुहुन्थ्यो । मधुपर्कलगायतका पत्रिका र अन्य पाठ्यसामग्री गाउँमा उपलब्ध गराइदिनुहुन्थ्यो । मेरो साहित्यिक यात्राको प्रारम्भिक पाठशाला मेरो दाइलाई नै मान्छु । लेखकको अन्तर्दृष्टि, घटना सन्दर्भ र परिवेशको सम्मिश्रण सिर्जना हुने गर्दछ । लेखक स्वयमको आदर्श, वातावरण र घटना प्रकृति हरेक लेखनको प्रेरणाको स्रोत हुने गर्दछन् ।
अचेल कसरी अघि बढिरहेको छ त लेखन गतिविधि ?
केही वर्ष संसद्मा व्यस्त हुनुपरेकाले प्रकाशनका काम रोकिएको थियो । लेख्ने काम भने सामान्यतया चलिरहेको थियो । अहिले केही समय मिलेको छ, रोकिएका प्रकाशनका कामलाई अगाडि बढाइरहेकी छु ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
हो, हाल म एउटा कविता कृति प्रकाशनको तयारीमा लागेकी छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी हुन्छ ?
साहित्य समाजको, राष्ट्रको दर्पण हो भने सर्जकहरू राष्ट्रका सम्पत्ति शान र मार्गदर्शक हुन् । यस अर्थमा स्वाभाविक रूपले हरेक राष्ट्रले साहित्य र सर्जकहरू फुल्ने, फैलिने र बढ्ने अवसर एवं वातावरण प्रदान गर्नुपर्दछ । यसका लागि सर्जकहरू सिर्जनाभित्र हराउन, रमाउन र खेल्न सक्ने अवस्था सिर्जना गर्नु राष्ट्रको दायित्व हुन्छ र हुनुपर्दछ ।
तपाईँको साहित्यिक आदर्श के हो ?
राता पालहरू, युवाहरूको गीत, गोर्कीकी आमा, अस्त्रोवस्कीको अग्निदीक्षाको अध्ययनसँगै मेरो साहित्यप्रतिको प्रारम्भिक धारणा बन्न सुरु गर्यो । साहित्यमा रुचि बढ्न र कलम चलाउन थालेपछि म जनयुद्धको प्रक्रियामा प्रत्यक्ष सहभागी हुने अवस्थाले पनि होला– मेरो आदर्श वर्गीय पक्ष धरता, लैङ्गिक र जातीय समानता, विद्रोही र परिवर्तनको पक्षपाती साहित्य बन्न पुग्यो । म चाहन्छु– हरेक साहित्यले श्रम र श्रमिकको आवाज बोलोस्, राष्ट्र र राष्ट्रियताको भावना बोकेको होस् क्रान्ति र परिवर्तनको महत्त्वलाई आत्मसात् गर्न सकोस् ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
हरेक व्यक्तिले आफ्नो दायित्व पूर्ण रूपले निर्वाह गर्न पहिलो कुरा व्यक्ति स्वयंमा तत्सम्बन्धी योग्यता, इमानदारी र जिम्मेवारी बोध हुनुपर्ने हुन्छ । यति मात्र पर्याप्त भने हुँदैन, तदअनुकूल वातावरण पनि हुनुपर्दछ । यसरी हेर्दा लेखकहरू स्वयंले थप मेहनत गर्नुपर्ने एकातिर देखिन्छ भने अर्कोतर्फ अनुकूल वातावरण सिर्जना गर्न बाह्य पक्षको भूमिका पनि आवश्यक छ । जहाँसम्म मेरो आफ्नै कृतिप्रतिको सन्तुष्टिको कुरा छ– मैले भन्नै पर्छ विषयवस्तुको दृष्टिले मूलतः सन्तुष्टि मिले पनि त्यसलाई परिष्कार गर्दै जानुपर्ने आवश्यकता मलाई महसुस भइरहन्छ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
समाजको आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक अवस्था अर्थात् त्यसको विकास क्रमले साहित्यलाई जन्म दिने भएकाले यसलाई पनि समाजको ऐतिहासिक विकास प्रक्रियामा नै हेर्नुपर्ने हुन्छ । सामाजिक चेतनाको स्तरले समेत प्रभाव परिरहेको हुन्छ । पञ्चायतकालीन साहित्यमा बढी विम्बको प्रयोग पाइन्छ, नियन्त्रित अवस्थाको प्रभावले पनि होला । जनयुद्धकलामा विद्रोहको पक्ष/विपक्षमा साहित्यहरू सिर्जना भएको देखिन्छ । पक्ष/विपक्षमा लेखिएका साहित्यमा धारिलोपनका साथै अग्रगमन र यथास्थितिवादबीचको तिखो टक्कर पाइन्छ । पछिल्लो समय भने केही मात्रामा निराशा, अकर्मण्यता र प्रतिक्रियात्मकता देखिन थाले पनि विकसित हुँदै गएको पठन–संस्कृति, सूचना प्रविधिको विकास र पाठकको सङ्ख्यामा बढोत्तरीसँगै समग्रमा साहित्यको विकास मात्रा र गुण दुवै दृष्टिले सुधारोन्मुख छ भन्दा अतिशयोक्ति हुने छैन ।
तपाईँको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य सदैव यथार्थको प्रतिविम्ब, सामाजिक चेत र सकारात्मक ऊर्जा हुनुपर्दछ । साहित्य कोरा नारा, फगत कल्पना र मन बहलाउने माध्यम मात्र बन्नुहुँदैन ।
सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सिर्जनामा अन्तर्निहित सजीवताले पाठकलाई आफूभित्र समाहित गर्दछ भने कल्पनाले रोमाञ्चित तुल्याउँछ । सिर्जनामा सजीवता र कल्पना दुवैको संयोजन जरुरी हुन्छ । तथापि सजीवता नै हरेक सिर्जनाका लागि प्रधान पक्ष हुनुपर्छ ।
तपाईँको लेख्ने निश्चित समय र वातावरण छ कि ?
खाली समयलाई म लेखनका लागि सदुपयोग गर्ने गर्दछु । मेरो लेखनको निश्चित समय छैन, तथापि बेलुकीको समय मलाई बढी सहज लाग्ने गर्दछ ।
कविता र संस्मरणहरूचाहिँ प्राय यात्राकै क्रममा पनि लेख्ने गर्छु । मन मस्तिष्कलाई संवेदित र उद्वेलित गर्ने वातावरणमा लेख्ने मुड बन्दछ । कहिलेकाहीँ एकान्त र शान्त वातावरण पनि रोज्ने गर्दछु ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
मेरो लेखनको विषयवस्तु सङ्घर्ष, परिवर्तन, सामाजिक न्यायसँग सम्बन्धित हुने गर्दछन् । घटना सन्दर्भ, सामाजिक सांस्कृतिक परिवेश र विषयवस्तु, जीवन सङ्घर्षका कथा, न्यायपूर्ण सङ्घर्ष र मानवीय मूल्य सम्बद्ध सवाल मेरो लेखनका विषयवस्तु हुने गर्दछन् । तीमध्ये कति बेला कुन विषय सान्दर्भिक लाग्छ– त्यसै विषयलाई प्राथमिकता दिने गर्दछु ।
सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
सिर्जनाका हिसाबले म आफूलाई अझै सिकारु ठान्दछु । त्यसकारण सफल स्रष्टाका सबै गुणलाई म यसै भन्न पनि नसकुँला तथापि सफल व्यक्तिको जीवन र व्यक्तित्वलाई हेर्दा जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा स्पष्टता, विषयवस्तुप्रतिको ज्ञान, निरन्तरको साधनासँगै विचार अनि भावनाको संयोजन क्षमता चाहिन्छ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?
बहुलतायुक्त समाजमा मानिसका रुचि र प्राथमिकतामा विविधता हुनु स्वाभाविक छ । नेपालको सन्दर्भमा कथा, कविता, गजल, संस्मरणलगायत चल्तीमा छन् । त्यसमध्ये कविता विधाका पाठक तुलनात्मक रूपमा केही बढी भएजस्तो लाग्छ ।
लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ?
सामान्यतः प्रकृति, समाज र मानवीय जीवनमा घटित घटना वा चल्ने बहसहरू प्रश्न अथवा उत्तर बनेर जति बेला मनमस्तिष्कमा घुम्न थाल्छ– त्यति नै बेला लेखकीय भावना उद्वेलित हुन थाल्छ । त्यो एक सर्जकका लागि आफैँमा दबाबपूर्ण अवस्थाजस्तो महसुस हुन्छ । अझ बढी जब कसैले यथार्थ तोडमरोड गरिरहेको हुन्छ वा जब कसैले समाज वा व्यक्तिलाई हिँड्न दुरुत्साहन गरिरहेको हुन्छ– त्यति बेला वास्तविकता प्रसार गर्न लेख्नुपर्ने आवश्यकता अझ बढी महसुस हुने गर्दछ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
उमेरको दृष्टिले नयाँ भन्न नमिले पनि लेखनका दृष्टिले म आफैँलाई पनि नयाँ जस्तो ठान्दछु । मेरो भनाइ यो रहन्छ कि लेखन लेखनका लागि मात्र हुनुहुँदैन । मूल्य स्थापित गर्ने, सामाजिक न्याय, देशभक्ति प्रवर्धन गर्ने प्रगति र उन्नतिलाई टेवा पुर्याउने लेखनको उद्देश्य हुनुपर्दछ । यसका लागि दृष्टिकोणमा स्पष्टता, विषयवस्तुसम्बन्धी ज्ञान र निरन्तरतामा ध्यान दिनुपर्दछ ।
किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन् ?
राजनीतिक दलहरू सत्ताका साधन मात्र होइनन्– विचारका वाहक पनि हुन् । स्रष्टा र दललाई नदीका दुई किनाराका रूपमा बुझ्नु हुँदैन । बहु वर्गीय, सामाजिक अनि सांस्कृतिक विविधतायुक्त समाजमा स्रष्टा पनि विचार–निरपेक्ष हुँदैनन् । जुन दलसँग स्रष्टाहरूले आफूलाई वैचारिक रूपले एक ठाउँ महसुस गर्छन्– ती दलमा आफूलाई आबद्ध गरे भने दलको झन्डामुनि ओत लागेको भनिहाल्नु हुँदैन । अर्को कुरा स्रष्टाहरूको भूमिका केवल दुनियाँलाई बुझ्ने र व्याख्या गर्ने मात्र नभई बदल्नु पनि भएको हुनाले समाजलाई बदल्न आफ्नो विचारको प्रतिनिधित्व गर्ने दलमा सङ्गठित हुने पनि गर्दछन् । दलको अनुशासनले सर्जकको विचारलाई बन्द गर्छ कि गर्दैन– त्योचाहिँ सर्जक स्वयंको विवेकमा निर्भर हुने कुरा हो ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
कुनै पनि लेखनमा समकालीन परिवेशलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने सम्बन्धमा निश्चित दृष्टिकोण तथा अन्तर्वस्तु निहित हुने गर्दछ । उक्त दृष्टिकोणले यथार्थ र त्यसभित्रको उज्यालो अनि प्रगतिशील पाटोलाई सम्बोधन गरेको छ वा कल्पना, अँध्यारो र पश्चगामी पक्षलाई बोकेको छ भन्ने आधारमा हेर्नुपर्ने हुन्छ । त्यसै गरी रूप, पक्ष वा शब्द, संरचना र शिल्पका आधारमा समेत हेरिन्छ । यसरी सबै लेखनलाई विषयवस्तु र कला दुई पक्षबाट मूल्याङ्कन गर्ने गरिन्छ ।
उपर्युक्त दृष्टिकोणका आधारमा नै मैले लेखनलाई हेर्ने र बुझ्ने कोसिस गर्दछु । प्रवृत्तिगत दृष्टिले समकालीन लेखनमा मूलतः तीन धार देखा पर्ने गरेका छन्– पहिलो प्रगतिशील, दोस्रो यथास्थितिवादी र तेस्रो पश्चगामी । प्रगतिशील धाराभित्र कस्तो खाले प्रगतिशीलता भन्ने बहस पनि देखिने गरेको छ । जुनसुकै धाराभित्र गएर हेर्दा पनि आदर्श मूल्यको पक्ष कमजोर र भावना, आवेग र नकारात्मकताले बढी स्थान पाउन थालेको जस्तो देखिए पनि यो नै मूल पक्ष भने बनिसकेको छैन । तसर्थ समकालीन लेखनप्रति पूर्ण रूपले सन्तुष्ट हुन नसके पनि असन्तुष्ट नै पनि छैन ।