
गगनकुमारी पौडेल र दधिराम पौडेलका छोरा बाजुराम पौडेलको जन्मस्थान काठमाडौंको गोकर्ण जगडोल (हाल बूढानीलकण्ठ नगरपालिका–११) हो । रहरै रहरमा जानी/नजानी वि.सं. २०२५ देखि नै कविताको सिर्जना गर्न थालेका उनी हाल गोकर्णेश्वर नगर–८ बेसीगाउँमा बस्छन् । त्यतिखेरका रचना उपलब्ध हुन नसके पनि २०३३ सालमा प्रकाशित आँसुको जीवन कविता उनको पहिलो प्रकाशित रचना हो। त्यतिबेलादेखि नै कविता र कथा लेखनमा रुचि बढ्दै जाँदा विभिन्न पत्रपत्रिकामा कथा पनि प्रकाशन भए र २०५१ मा सिर्जना फस्टाउनुपर्छ खण्डकाव्य उनको पहिलो प्रकाशित कृति हो । हालसम्म उनको दुईवटा कवितासङ्ग्रह, चारवटा महाकाव्य (एक संयुक्तसहित), पाँचवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह, एउटा कथासङ्ग्रह, चारवटा खण्डकाव्य र एउटा बृहत्ग्रन्थ स्रष्टा परिचय सम्पादनसहित २० वटा कृति प्रकाशन भएका छन् ।
‘कविता, कथा, समीक्षा र निबन्धका फुटकर रचना धेरै जम्मा भइसकेका छन् । प्रकाशनको साइत अझै जुरेको छैन। आफू जन्मे, हुर्केको र बढेको ग्रामीण जीवन नै मेरा साहित्यिक सिर्जनाका प्रभाव अनि स्रोत हुन् । गाउँका अग्रजले सुनाउने गरेका दत्यकथालगायतका कथा र दिदीले किनेर ल्याएदिएको मुनामदनको वाचन नै यसप्रकारका सिर्जनाका आधार बने। किंवदन्ती र पौराणिक कथाहरूले यसतर्फको रुचि अझै बढाएदिए । प्राप्तिको लालसा छैन र प्रचारको होडबाजी पनि म चाहन्नँ । मनका भावना व्यक्त गर्न पाएको क्षण आफूलाई आनन्दित लाग्ने हुँदा शान्तपूर्ण आफ्ना भावना अभिव्यक्ति हुन पाएको क्षण आफूलाई सन्तुष्ट बनाउँछु’ उनी भन्छन् । उनै पौडेलसँग हर समयको जयराम सापकोटाले गरेको कुराकानी ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अहिले मेरो खासै त्यस्तो तयारी केही पनि छैन ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
विकसित र सुसंस्कृत राष्ट्रहरूले कला, भाषा र साहित्यको समृद्धिका लागि विशेष योगदान दिएका हुन्छन् । त्यहाँ स्रष्टालाई विशेष महत्त्व दिइन्छ । साहित्य र कलाको समृद्धि नै विकासको द्योतक मान्ने सोच अनि चिन्तन भएका देशमा यसको उल्लेखनीय स्थान रहेको पाइन्छ । हरेक राष्ट्रले सोच्नुपर्ने र गर्नुपर्ने कार्य यिनै हुन् तापनि नेपालजस्तो राष्ट्रले यसतर्फ त्यति महत्त्व दिएको पाइँदैन । राजनीतिलाई प्रेरित र प्रभावित पार्ने कला र साहित्यको महत्त्व नबुझेका व्यक्तिबाट सत्ता सञ्चालन भयो भने यस्तै गतिविधि देखिँदो रहेछ । नेपालका कलाकार तथा साहित्यकारले राष्ट्रबाट प्राप्त गर्नुपर्ने सुविधा अत्यन्त न्यूनरूपमा मात्र प्राप्त गरेको आभास हुन्छ । राष्ट्रले यसतर्फ विशेष सोच पुर्याइदिनु आवश्यक छ । कलाकार र साहित्यकारको बाँच्ने आधार वा जीविकाको व्यवस्था हुन नसक्दा सिर्जनामा प्रतिकूलता आइरहेको सर्वत्र महशुस भइरहेको छ ।
हाल म बसिरहेको गोकर्णेश्वर नगरमा यसतर्फ निकै भिन्नता पाइन्छ । यस नगरले कला साहित्य भाषा सस्कृति, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदान यौटा सुन्दर नमुनाका रूपमा प्रस्तुत भएको छ । विकासमा फराकिलो सोच र दृष्टिकोण भएका नगरप्रमुख दीपक रिसालले माथि उल्लिखित सबै क्षेत्रमा ध्यान पुर्याएको र अझ भाषा साहित्यका क्षेत्रमा विशेष महत्त्व दिई यस भेगमा स्थापित साहित्यिक संस्थाको समृद्धि, विशिष्ट साहित्यकारको कृति प्रकाशन, समय÷समयमा साहित्यिक कार्यक्रम सञ्चालन, ठूलो धनराशिको नगर साहित्य पुरस्कारको स्थापना र सोको औपचारिक अर्पणकार्यमा निरन्तरता, राज्यभरिकै साहित्यकारको विशेष सम्मानजस्ता उल्लेखनीय कार्य यसको उदाहरण र देशका अन्य पालिकाका लागि नयाँ पाठ पनि बनेका छन् । सबैले यसको सिको गर्न उपयुक्त देखिएको छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
जीवनका हरेक पक्ष र पाटोका आ-आफ्नै आदर्श हुन्छन् । त्यसैगरी शास्त्र, साहित्य र कलामा अझ आदर्श प्रखररूपमा प्रतिविम्बित भएका हुन्छन् । आदर्श त्यो पवित्रता हो– जसले स्रष्टा र सिर्जनालाई निष्कलंक बनाउन प्रेरित गर्दछ । दुर्भाग्यको कुरा आजभोलि जताजतै मर्दै गएको आदर्शले जीवन र जगत् आक्रान्त बन्न पुगेको छ । यसरी विकृत र आदर्शहीन राजनीतिले धमिलो बनाएको वातावरणलाई अबका दिनले संरक्षण अनि सुधारको बाटो अवलम्बन गर्ने भनेको कला र साहित्यको माध्यमले नै हो । साहित्य र कला नितान्त हृदयपक्षसँग सम्बन्धित हुने हुँदा कला र साहित्यमा अझ बढी आदर्श चाहिन्छ । आदर्शले नैतिक पाठ पनि पढाउँछ । अन्तर्मुखी बनेर राष्ट्र र मानवीय संवेदनामा सिर्जना गर्नु नै साहित्यिक आदर्श ठान्दछु । साहित्य र कला सबैवाद अनि सिद्धान्तको साझा सम्पत्ति पनि हो । यसले निश्चित वाद वा झण्डाको पक्षमा सिर्जना गरिरहेको छ भने त्यो समयको बरबादभन्दा अरू केही हुन सक्दैन । एउटाको पक्षमा रहनु वा त्यसकै पृष्ठपोषक बन्नु साहित्यिक आदर्श होइन । साहित्य र कला साझा सम्पत्ति हो, यो सर्वजनीन हुनुपर्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व वहन गरेका छैनन् भन्नु लेखकवर्गकै आलोचना हुन जान्छ । गरेका छन् भनुँ भने स्पष्ट आधार भेटिँदैन । कलाकार तथा साहित्यकारले आफू र आफ्नै वरिपरिमात्र होइन– अरू र टाढाका व्यक्तिलाई पनि हेर्ने फराकिलो दृष्टिकोणको आवश्यकता छ । त्यसको अभावमा दायित्व निर्वाह नभएको पनि प्रतीत हुन्छ ।
तपाईं आफ्नो कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
भनिन्छ, कवि कलाकार सिर्जनाको क्षणमा रमाउँछ । आफ्नो मनको उद्वेगलाई तन्मयका साथ अभिव्यक्त गर्न पाएको क्षणमा अझ ऊ खुसी हुन्छ । सिर्जनाका क्षणमा सबै स्रष्टा यस्तै हुन्छन् । म पनि निर्विघ्न र निर्बाधरूपमा आफ्ना मनोभावना अभिव्यक्त गर्न पाएको क्षणमा खुसी हुन्छु, यो नै मेरो सन्तुष्टि पनि हो । एउटै सिर्जनाले जीवनभरको सन्तुष्टि कर्सैलाई पनि हुँदैन त्यस्तो हुनु भनेको भावी सिर्जनाप्रति अन्याय गर्नु हो ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ? तपाईँका विचारमा कस्तो साहित्य लेखिनुपर्छ र लेख्ने प्रेरणा के-के हुन सक्लान् ?
कला र साहित्य सिर्जना मनको उद्वेलनको प्रस्तुतीकरण हो । कसैले सतही बनेर प्रस्तुत गर्छन् र कोही अन्तर्यको प्रस्तुति केलाउँछन् । यहाँ दिव्यता र प्रतिभाका कुरा पनि आउँछन् । सबैमा यो शक्ति प्राप्त हुँदैन वा भएको हुँदैन । प्रतिभा–शक्ति प्रकट हुनका लागि गहिरो साधना वा लामो अभ्यास आवश्यक पर्दछ । आजका हामी स्रष्टा रहरका मात्र लेखक बनेका छौँ । हाम्रो साधना–अभ्यास अत्यन्त छोटो र कमजोर पनि छ । हाम्रा अग्रजमा रहेको लामो साधना र अभ्यासले प्रतिभा ब्युझन्थ्यो तर आजका स्रष्टामा प्रतिभा अर्धनिद्रामा रहेको देखिन्छ ।
कला जीवनका लागि हो । जीवन आफैंमा एउटा संवेदनाको पुञ्ज पनि हो । जीवनलाई चाहिने राष्ट्र, राष्ट्रियता, ज्ञान, विज्ञान, कला र साहित्य भूप्रकृतिका अप्राप्तिमा संवेदना उर्लन थाल्छ भने यस्तो अभिव्यक्ति नै सफल कला वा सिर्जनाका रूपमा रहन्छ ।सिर्जनाका बाह्य प्रेरक तत्वमा धेरै कुरा आउँछन् र आन्तरिक प्रेरणाका रूपमा स्रष्टाकै मन वा भावना अग्रपङ्क्तिमा आउँछन् ।
लेख्ने समय वातावरण र विषयवस्तुका छनोटबारेमा तपाइँका आफ्नै दृष्टिकोण छन् कि ?
सबै सिर्जना–साधकमा एकान्तसेवनको अभ्यास आवश्यक पर्छ । मनले प्रेरित गरेको इच्छा नै त्यस सिर्जनाको लेखन समय हुन सक्छ । त्यतिखेर लेखिएन भने त्यो त्यतिकै हराउन पनि सक्छ, त्यसैले लेखनको निश्चित समयमा म विश्वास राख्दिनँ । सिर्जनाले निर्गन्ध, निद्र्वन्द्व, स्वच्छता, शीतलता, सौन्दर्य र शान्त वातावरणको अपेक्षा गर्दछ । यस्ता तत्त्वका अभावमा भावना अवरुद्ध र कुण्ठित हुन पुग्ने हुँदा सबैलाई यस्तै वातावरण आवश्यक पर्छ भन्ने ठान्दछु । आफ्नो संवेदनामा छोएका कुनै पनि घटना पात्र वा दृश्य सिर्जनाका विषयवस्तु बन्न सक्छन् ।
सफल स्रष्टामा हुनुपर्ने आवश्यक गुण के-के हुन् ?
शान्त, सहनशीन, दम्भरहित, प्रचारअनपेक्षी र निस्वार्थी स्वभाव नै कवि कलाकारको धर्म हो । यस धर्मको प्रतिपालनमा उसले “म होइन त्यो । मलाई होइन त्यसलाई । हामीलाई होइन सबैलाई । हाम्रो मात्र होइन सबैको” भन्ने भावना नै सफल स्रष्टाको आवश्यक गुण हुन् । जीवनका विविध पक्षमा देखापर्ने दुर्घटना, विकृति, विनाश, पीडा, प्रहार र निमर्मता आदिको गहिराइसम्म पुगेर पाठक वा श्रोताको संवेदनालाई छोइदिने सिर्जनाले नै स्रष्टालाई सफल बनाउँछ ।
साहित्यको कुन विधामा बढी पाठक होलान् ?
साहित्यको सबैभन्दा पुरानो विधा कवितालाई नै मानिन्छ । स्वर र लयमा वाचन गर्न सुहाउने हँुदा पनि यसमा आकर्षण भएको पाइन्छ । थोरैमा धेरै कुरा जानकारी हुने र यसका प्राय सङ्ंक्षिप्त आकारका कारण पनि पाठकश्रोता यसतर्फ बढी लागेको पाइन्छ । आजभोलि नेपाली साहित्यमा कविताविधा लेखनमा रमाउने थुप्रै स्रष्टा हुनुका कारण पाठक पनि यसैमा बढी भएका हुन् भन्न सकिन्छ ।
नयाँ लेखकलाई केही भन्नु छ कि ?
अध्ययनशील र चिन्तनशील बन्नुहोस् । नितान्त अन्तर्मुखी बनेर सिर्जना गर्नुहोस् । सफलता सधैँ तपाईंको पैतालामुनि रहेको हुन्छ ।