Harsamaya
रुबीको शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट - रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीय रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र  चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा  ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् । 

ई–रिक्सामा सुटकेसमा राखेर गंगा पिपरा गाउँसम्म लैजान भनेको चालक महराले बताए । यस कार्यका लागि चालक महराले पाँच सयमा भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस भित्र रुबीकुमारीको शव फेला परेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update