बुढानीलकण्ठको रुद्रेश्वर चोकबाट आधा किलोमिटर जति पूर्व जानासाथ हरियो जंगल अनि अग्लो पहाड देखिन्छ । हावा एकाएक चिसिन्छ । चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजले मन चङ्गा पारिदिन्छ । काठमाडौंको कोलाहलबाट एक्कासि कतै टाढा उक्लेजस्तो भान हुन्छ ।
सोही ठाउँ अर्थात् बूढानीलकण्ठ–१, ईशान कोलोनीमा धेरै घरहरू छन्, तीमध्ये एक घर मीन रत्न बज्राचार्यको हो । उनको घर वरिपरि हरियाली छ । घरभित्र पनि गमलामा हरिया बोटबिरुवा सजाइएका छन् ।
विश्व फोटोग्राफी दिवसको अवसरमा उनीसँग गरेको कुराकानीमा उनले आफ्नो सुरुवाती दिनदेखि नै आफ्नो हरेक अनुभवहरु सुनाए ।
सत्य कुरा के हो भने फोटो पत्रकारिताको संसारमा एक सशक्त नाम हो - मीन रत्न बज्राचार्य । उनले जीवनको हरेक मोडमा सङ्घर्षलाई अँगालेर एउटा साधकको रूपमा क्यामेरालाई अपनाए, अनि समाज, समय र सत्ता तीन वटैलाई फ्रेममा कैद गरे । कुराकानीमा उनले आफ्ना जीवनका अनेक अनुभवहरू बाँडे, जुन केवल तस्वीरकै होइन, दर्शन, राजनीति, संस्कार र सङ्घर्षको कथाले भरिएको छ ।
मीन रत्नको फोटोग्राफी यात्रा २०३६ सालमा सुरु भयो । त्यो समय उनी क्यामेरासँग मात्र होइन, विचारसँग पनि सङ्घर्षरत थिए । काठमाडौं उपत्यकाका साँघुरा गल्ली, आन्दोलनका हुङ्कार, जनताका अनुहार र देशको बदलिँदो राजनीतिक दृश्य पटल उनका लागि क्यानभास जस्तै बने । उनी भन्छन्, ‘फोटो भनेको केवल दृश्य होइन, त्यो त घटनाको जीवित दस्ताबेज हो ।’
उनको करिअरको महत्त्वपूर्ण मोड थियो, जनआन्दोलन २०४६ । त्यो समय उनले खिचेका तस्वीरहरूले देशको राजनीतिक रूपान्तरणमा प्रत्यक्ष प्रभाव पारे । ‘त्यो आन्दोलनको हर एक फ्रेम आज पनि बोल्छ,’ उनी सम्झिन्छन् । ‘कयौँपल्ट ढुङ्गा र गोलीबिच उभिएर मैले फोटो खिचेँ, डर लाग्थ्यो तर कर्तव्य ठूलो हुन्थ्यो ।’
४० को दशकतिरको कुरा हो । स्वीट्जरल्याण्डका विख्यात भू–गर्भशास्त्री डा. टोनी हगेन नेपाललाई खुबै माया गर्थे । २४ अक्टोबर १९५० मा पहिलोपल्ट नेपाल आएका उनले संसारलाई ‘सगरमाथा नेपालमा छ’ भनेर सुनाएका थिए ।
१८ अप्रिल २००३ मा हगेन बिते । त्यसको वर्ष दिनपछि हगनकी छोरी क्याट्रिनले नेपाल आएर सिधै मीन रत्नलाई भेटिन् । ‘मीन, भाइ फादर लेफ्ट फर यु सेइङ द्याट– मेन्टेनिङ टोनी हेगन्स लिगेसी, दिस इज फर यु !’ अल्पा नामको क्यामेरा आफूलाई थमाउँदै क्याट्रिनले भनेका कुरा मीन रत्नले बिर्सेका छैनन् ।
टोनी हगेन फोटोग्राफर पनि थिए । उनले त्यस बेला नेपाल र यहाँको जनजीवन दर्साउने थुप्रै फोटो सोही क्यामेराबाट खिचेका थिए । मीन रत्नले टोनी हेगनलाई सन् १९९१ मा पहिलोपल्ट भेटेका रहेछन् । उनीहरूको भेट पनि कम रोचक छैन । अनि एकाएक बढेको दोस्ती झनै लोभलाग्दो ।
यसै गरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीन रत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्वीरमा उतार्न थाले ।
त्यहाँबाट फर्किएपछि नेपालको मठमन्दिर, जात्रै जात्रा, जनजीवन उनका फ्रेममा समाउन थाले । मीन रत्नको बाल्यकाल संर्घषमै बित्यो । बुबा एक शिक्षक—परोपकार स्कुलका हेडमास्टर र समाजसेवी पनि थिए । परिवारको आर्थिक अवस्था मजबुत थिएन । बाल्यकालमै प्रेसमा काम गर्नु, टेलरिङ सिक्नु, अनि जाइकाको फेशन डिजाइन तालिममार्फत जीवन अघि बढाउनु उनको बाध्यता मात्रै थिएन, सपना पनि थियो । पढाइसँगै पेसा मिलाएर अघि बढ्दा उनले सिके—‘सीप भए जिन्दगीमा दुई छाक जोड्न गाह्रो हुँदैन ।’
१९८५ मा निभी क्याप्टेन लेन पाउन्डटनको निम्तोमा अस्ट्रेलिया पुगेका मीन रत्नले सेन्ट भिन्सेन्ट क्यान्सर रिलिज संस्थादेखि लिएर लेगेसी नामको वेलफेयर संस्थासम्मको काम नजिकबाट हेरे । अस्ट्रेलियामा उनका साथीको वृद्ध पिताको हेरचाह गर्नु, पार्कमा टहलाउने, अनि इङ्ग्लिस सिक्दै जीवनशैली बुझ्ने अवसर पाएका उनले भने, ‘त्यहाँ मैले फोटो खिच्न थाल्दा मानिसहरूले भने, ‘तिमी साँचै फोटोग्राफीक आइकन भएको मान्छे हौँ ।’ यसैको फलस्वरूप उनले फर्किएर नेपालमा फोटो पत्रकारितालाई जीवन बनाउने निधो गरे ।
१० सेप्टेम्बर १९८५, हङकङ—त्यही दिन मीन रत्नले अस्ट्रेलियाबाट फर्किने क्रममा राजा वीरेन्द्रलाई आकस्मिक भेटे । पेनिनसुला होटेलअगाडि टहलिरहेका राजा वीरेन्द्रसँग उनले आत्मविश्वासका साथ अङ्ग्रेजीमा संवाद गरे ।
आफ्ना अस्ट्रेलियन साथी पाउन्डटनलाई चिनाए । राजा वीरेन्द्रले हात मिलाउँदै भने, ‘यू ह्याभ विन भेरी काइन्ड टु वन अफ माइ सिटिजन्स’ त्यो क्षण नेपाली पत्रकारिता इतिहासको एउटा अद्वितीय झलक थियो ।
प्रजातन्त्रपछिको नेपालमा फोटोग्राफरहरूको संस्थागत विकास हुँदै गयो । मीन रत्न राष्ट्रिय फोटो पत्रकार समूहको दुई कार्यकाल अध्यक्ष भए । तेस्रो कार्यकाल भने युवालाई अवसर दिन छाडे । आफ्नो नेतृत्वमा उनले सार्क फोटोग्राफी एक्सचेन्ज, फोटो प्रदर्शनी, फोटोग्राफी दिवसजस्ता कार्यक्रमहरू अगाडि सारे ।
बाल्यकालमा प्रेस, टेलरिङ, घरेलु सीप, जापानी सहयोगमा भएको डिजाइन तालिम—यी सबैले उनलाई बहु आयामिक बनाए । उनले लुगा काट्नदेखि फोटो काट्नेसम्मको यात्रा त्यतिखेर सुरु गरे, जब समाजले ‘काम गराउने ?’ भनेर आमालाई प्रश्न गर्थ्यो, अनि आमाले भनेकी थिइन् ‘बाबु, छोड, पढ ।’ त्यही पढाइले उनलाई फोटो पत्रकार बनायो ।
मीन रत्नको बुझाइमा राम्रो तस्वीर खिच्न लेन्सभन्दा सेन्स महत्त्वपूर्ण हुन्छ । भन्छन्, ‘मंहगो क्यामेरा, मंहगो लेन्स भयो भने राम्रो फोटो खिच्न सकिन्छ भन्ने भ्रम कतिपयमा हुनसक्छ । उपयुक्त मुभ्मेन्ट र भिजन महत्त्वपूर्ण कुरा हो । ठिकठिकै क्यामेराबाट पनि उत्कृष्ट तस्वीर निकाल्न सकिन्छ । यसका लागि लेन्सभन्दा सेन्स राम्रो चाहिन्छ ।’
मीन रत्नले नजिकबाट देखेका छन् राज शाहीदेखि गणतन्त्रसम्मका परिवर्तनहरू । उनले न केवल राजनीतिक घटनाहरू समेटे तर समाजका संवेदनशील पक्षहरू – गरिबी, जातीय भेदभाव, धार्मिक र सांस्कृतिक विविधता आदी सबैलाई आफ्नो क्यामेराको माध्यमबाट बोले । उनका अनुसार, ‘तस्वीर मार्फत सत्य देखाउनु हरेक पत्रकारको धर्म हो ।’
प्रविधिको परिवर्तनले पत्रकारिता र फोटो पत्रकारिता दुवैलाई फरक मोडमा ल्याएको उनी मान्छन् । ‘पहिले फिल्म रोल हुन्थ्यो, अहिले डिजिटल क्यामेरा । तर दृष्टिकोण, दृष्टि र मूल्य मान्यता उस्तै छन् ।’ उनी युवा फोटो पत्रकारहरूलाई सुझाव दिन्छन्, ‘तपाईँको फोटोले यदि बोल्दैन भने, त्यो फोटो होइन, केवल तस्वीर हो ।’
मीन रत्न अहिले पनि सक्रिय छन् । समाज र देशका कथाहरू उनी अझै क्यामेरामार्फत कैद गरिरहेका छन् । ‘जबसम्म आँखाले देख्छ र मुटुले महसुस गर्छ, तबसम्म फोटो खिच्ने चाहना मरेको छैन,’ उनी भन्छन् ।
पहिलो पटक क्यामेरा उनले अस्ट्रेलियामा सन् १९८५ मा छोए । नेपालमा चिनजान भएका अस्ट्रेलियन साथीले घुमाउन अस्ट्रेलिया लैजाँदा त्यहाँका दृश्य कैद गर्न उनले क्यामेरा चलाउन पाएका थिए । खासै क्यामेराको ज्ञान नभएका बज्राचार्यलाई उनै साथीले घुम्न जाँदा फोटो कसरी खिच्ने सिकाएका थिए ।
२०४२ सालमा नेपाल फर्किएका बज्राचार्य तिनै क्यामेरा र त्यसबाट लिइएको अस्ट्रेलियाका विभिन्न स्थानका दृश्यलाई साथीमाझ देखाउँथे । स्मृतिका पाना पल्टाउँदै उनी भन्छन्, ‘त्यतिखेर क्यामेरा चलाउने त ठूलै मान्छेजस्तो मानिन्थ्यो । त्यसैले त्यो फोटो कतिले त पैसा दिएर पनि लगे ।’
सानैमा आमाबुबा गुमाएका बज्राचार्य हातमुख जोर्नकै लागि नजिकै रहेको एउटा टेलरमा सिलाइ कटाइको काम गर्थे । बिहान क्याम्पस, दिउँसो टेलर र टेलरबाट हप्ताको पैसा आउने बित्तिकै त्यही क्यामेराका साथमा भेटिन्थे कहिले चोभारमा त कहिले स्वयम्भूतिर ।
जानी–नजानी वन पाखा चराचुरुङ्गीको फोटो खिच्दाखिच्दै कहिले नेपालकै आइकोनिक फोटोग्राफर बने उनलाई पत्तै भएन । क्यामेरा हातमा र चलाउने ज्ञान दुवै भएपछि एक मित्रले फोटो खिच्न सक्छौ भन्ने प्रश्नसहितको आग्रहले आफूलाई नेपालकै अब्बल फोटोग्राफरको रूपमा उभ्याएको बज्राचार्य बताउँछन् ।
भन्छन्, ‘सन् १९८७ मा पत्रकार पदम ठकुराठी गोली काण्डमा एक जना मित्रले पक्राउ परेका अभियुक्तको फोटो ल्याउन सक्छौ भनेर सोधे । क्यामेरा हातमा छ सक्दिनँ किन भन्ने भनेर फोटो खिच्न तम्सिएँ । राम्रै फोटो ल्याएछु । भोलिपल्ट पो थाहा पाएँ– त्यो फोटो त अङ्ग्रेजी पत्रिका ‘द कमनर’ले आफ्नो मुख्य पृष्ठमा नै छापेको रहेछ मेरो नामसहित । फोटो र नाम देखेपछि पो दङ्ग परेँ, अहो म त पत्रकार पो भएछु !’
सन् १९८७ बाट फोटो पत्रकारिता सुरु गरेका उनले त्यसपछि त्यसताकाको लोकप्रिय पत्रिका ‘विमर्श’मा व्यावसायिक फोटो पत्रकारको रूपमा काम सुरु गरे । जहाँबाट उनले ०४४ सालको आँधीबेहरीका कारण रङ्गशालामा थुप्रिएका लास, २०४५÷०४६ को बृहत् जनआन्दोलन, २०६२÷०६३ को आन्दोलनलगायतका घटनाको तस्वीर उतारे । तस्वीर मात्रै उतारेनन्, उनले फोटोबाट घटना र कथालाई पनि उतारे । अझ भनौँ, हजार शब्दमा व्यक्त गर्न नसक्ने कथालाई उनले एउटै फोटोले व्यक्त गर्न सके ।
यसै गरी बज्राचार्यले नयाँ पुस्ताका फोटो पत्रकार तथा फोटोग्राफरहरूलाई समयको महत्त्व बुझ्न आग्रह गरेका छन् । फोटो पत्रकारिता एउटा द्रुत गतिमा बदलिँदो क्षेत्र भएको उल्लेख गर्दै उनले कुनै पनि कार्यक्रम वा घटना कभर गर्न जानुअघि पूर्व तयारी आवश्यक पर्नेमा जोड दिए ।
‘हामी फोटो जर्नालिस्ट भएपछि, सकभर समयभन्दा अगाडि पुगेर वातावरण बुझ्नुपर्छ,’ बज्राचार्यले भने, ‘घन्टौँ अगाडि गएर एट्मोसफेयर रिड गर्न सके, कुन कोण (एंगल) बाट राम्रो फोटो आउँछ भनेर पहिल्यै थाहा हुन्छ ।’
उनका अनुसार, घटनास्थलमा कम्तीमा पनि १५–२० मिनेट अगाडि पुग्न सके राम्रो हुने र त्यसले रिपोर्टिङको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।
हालको प्रविधिमैत्री तर छरितो वातावरणले गर्दा कतिपय फोटो पत्रकार ढिलाइ हुने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘११ बजे कार्यक्रम छ भनिएको छ भने कोही कोही त त्यसैमा ढिला हुने गर्छन् । नेताजीहरू आफै पनि ११ बजे चिफ गेस्ट भनेर बोलाइएका कार्यक्रममा २ बजे आइपुग्छन् ।’
उनका अनुसार, यस्ता प्रवृत्तिले फोटो पत्रकारहरूको समयप्रतिको दृष्टिकोण पनि असरमा परेको हुनसक्छ । ‘हामी फोटो पत्रकारले समयको मूल्य अझ राम्रोसँग बुझ्नुपर्छ,’ उनले भने ।
बज्राचार्यले अनुभवका आधारमा नयाँ पुस्तालाई यस्ता सल्लाह र सुझाव दिइरहनु आवश्यक रहेको बताएका छन् । उनका अनुसार, योजनाबद्ध कार्यशैली र समय पालनाले मात्र फोटो पत्रकारिताको स्तर उकास्न सकिन्छ ।
मीन रत्न बज्राचार्य फोटो पत्रकार मात्र होइनन् । उनी जीवनको सौन्दर्य, सङ्घर्ष, सन्देश सबैलाई एउटै फ्रेममा उतार्न सक्ने दृष्टिवान् व्यक्ति हुन् । उनी भन्छन्, ‘फोटो पत्रकारिता केवल पेसा होइन, यो समाजलाई साक्षी राख्ने माध्यम हो ।’ आज पनि उनले हरेक जात्रा, मठमन्दिर, जनआन्दोलन, दैनिकी र परिवर्तनलाई समेटिरहेका छन् क्यामेराको आँखा भएर ।
यसै गरी फोटो पत्रकारिता मात्र नभएर जुनसुकै पेसामा प्रभावशाली बन्न इच्छाशक्ति र निरन्तर प्रयास आवश्यक पर्ने उनी बताउँछन् । उनले खिचेका तस्वीरहरू अमेरिका, फ्रान्स, जर्मनी, भारतलगायतका देशका अखबारले समेत छापेका छन् । आफ्नो कामका लागि उनले थुप्रै सम्मान समेत पाएका छन् ।