काठमाडौं - महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धाप ड्यामबाट पानी छाडिएको छ। पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले स्नान र सौन्दर्य अभिवृद्धिका लागि पानी प्रवाह बढाइएको हो।
बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले आज दिउँसोदेखि क्रमिक रूपमा पानी छाड्न सुरु गरेको जनाएको छ। आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार धाप ड्यामबाट छाडिएको पानी पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्छ।
समितिका अनुसार तीन दिनसम्म प्रतिसेकेण्ड ४०० लिटरका दरले पानी बगाइनेछ, जसबाट नदीमा घुँडासम्म पानीको सतह पुग्ने र व्रतालुलाई स्नान गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र मेलम्ची खानेपानी विकास समितिसँग पनि समन्वय गरिएको छ। सुन्दरीजल प्रशोधन केन्द्रमार्फत करिब पाँच करोड लिटरसम्म पानी प्रवाह गर्ने तयारी छ।
अधिकारीहरूका अनुसार नदीमा पानी छाड्दा उपत्यकाका उपभोक्तालाई खानेपानी आपूर्तिमा असर नपर्ने व्यवस्था मिलाइएको छ।

