सिन्धुपाल्चोक - स्थानीय राजनीतिक समीकरण फेरिने संकेत देखिएको जुगल गाउँपालिकामा एमाले र कांग्रेसका प्रभावशाली नेताहरू नेकपामा प्रवेश गरेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बनेका जयबहादुर लामा र २०७४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा लामा नेकपामा समाहित भएसँगै जुगलको राजनीतिक ध्रुवीकरण नयाँ मोडमा पुगेको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी विस्तार अभियान तीव्र बनाइएको संकेत दिएका छन्। कार्यक्रममा पूर्व कार्यपालिका सदस्यदेखि स्थानीय तहका सक्रिय कार्यकर्तासम्म दर्जनौँ व्यक्ति नेकपामा आबद्ध भएका छन्।
जयबहादुर लामा यसअघि कांग्रेस हुँदै एमाले पुगेका नेता हुन्। मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरी अध्यक्ष पदमा उम्मेदवार बनेका उनी पुनः दल परिवर्तन गर्दै नेकपामा पुगेका छन्। सानुकान्छा लामा पनि त्यही राजनीतिक यात्रामार्फत अहिले नेकपामा आइपुगेका हुन्।
जुगल गाउँपालिका एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ र काँग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार जंगबहादुर लामाको गृहपालिका भएकाले यहाँको दलगत हेरफेरलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
केही दिनअघि बाह्रबिसेका पूर्व प्रमुख निमफुञ्जो शेर्पासहितका नेताहरू पनि नेकपामा प्रवेश गरेपछि सिन्धुपाल्चोकमा दल–परिवर्तनको श्रृंखला जारी रहेको देखिन्छ।

