
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् भनी टिप्पणी गरेका छन् । दुई दलबिच भएको कार्यगत एकता सफलताको शुभकामना दिँदै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘पहिचानवादीहरू एक ठाउँमा हुँदा खेरी नै जनतामाथि षड्यन्त्र हुने गर्दछ । पहिचानको आन्दोलनमाथि धोका दिने काम हुन्छ । आफूलाई पहिचानवादी ठान्नेहरू वास्तवमा अस्थिर र अवसरवादी छन् ।’
उनी पहिचानवादी भनिनेहरू पहिचान विरोधी शक्तिको इशारा र निर्देशनमा चल्ने गरेको आरोप लगाउँछन् । उनी भन्छन् ‘आफू कमजोर बन्दा पहिचान र अधिकारको सवाल उठाउने र आफू र पार्टी बलियो बन्दा त्यही पहिचान र अधिकारको आन्दोलनलाई कमजोर बनाउने काम गर्छन् ।’
उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरूलाई अब गम्भीर आत्म समीक्षा गर्न सुझाव दिएका छन् ।
कुनै समय जनता समाजवादी पार्टी (जसपा) नेपालमा एकताबद्ध रहेका बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राईले आ–आफ्नो पूर्ववत् गुट लिएर आफै नेतृत्व गर्ने गरी आफ्नो लागि पार्टी बनाएको भन्दै यस्तो प्रवृत्ति र दृष्टिकोणले जनताको अधिकार स्थापित गर्न नसकिने उनको भनाइ छ ।