
काठमाडौं - सामान्य परिवारमा जन्मिएर समाजसेवा र राजनीतिक यात्राको असाधारण सफलता हासिल गरेका किरण थापा मगरले पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।
२०८१ साउन ९ मा पहिलो पटक स्वास्थ्य मन्त्री बनेका थापा यसपटक जनअपेक्षा, कामको निरन्तरता र परिणाममुखी सेवाको प्रतिक बनेर पुनः मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।
सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
उनकै कार्यकालमा भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पतालको मान्यता प्राप्त भयो। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (MSS) मा १०० मा ९० अंक ल्याएर पहिलो घोषित भएको भक्तपुर अस्पताल स्वास्थ्य व्यवस्थापन सुदृढीकरणको उदाहरण बन्यो। हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा सुरु गरिनु, रसुवा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सक परिचालन हुनु उनका गतिशील निर्णयहरू हुन्।
स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरण, इएमआर्, इएचआर, एमएसएस, क्लिनिकल अडिट, आयुर्वेद सेवा विस्तार, योग तथा प्राणायामलाई संस्थागत वैधानिकता दिने नीति समेत उनले सुरु गरेका छन्। अटिजम, थालसेमिया, सेरेब्रल पाल्सी, हेमोफिलिया जस्ता रोगहरूको निःशुल्क उपचारको पहल, विपन्न तथा अपांग व्यक्तिको बीमा, स्वयंसेविकाको सम्मान कार्यक्रमजस्ता कार्यले थापा जनमुखी नेताको रूपमा उभिएका छन्।
स्वास्थ्य मन्त्रालयबाट पारदर्शी नियमावली, मापदण्ड निर्माण र अनलाइन प्रणालीको सुरुवात गरी मन्त्रालयको काम चुस्त बनाउन उनले सुधार ल्याएका छन्।
साथै, सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको स्तरोन्नति, सिरुटार, सिपाडोल र धमाधिकोटमा स्वास्थ्य पूर्वाधार निर्माण, विद्यालय नर्सहरूको भत्ता लगायतमा उल्लेखनीय बजेट विनियोजन भएको छ। स्वास्थ्य क्षेत्रको मात्र होइन, सामाजिक सेवाको हरेक तहमा उनी अग्रपंक्तिमा देखिएका छन्।
‘स्वास्थ्य सुविधा पहुँचको हक हो-यो हाम्रो प्रतिबद्धताको एउटा प्रगाढ अभिव्यक्ति हो’, मन्त्री थापा सधैँ दोहोर्याउँछन्।
राजनीतिक यात्रामा नेकपा एमालेको आधारभूत तहदेखि जिल्ला उपाध्यक्षसम्म पुगेका उनी, भक्तपुर क्षेत्र नं २ (ख) बाट २०७९ मा प्रदेशसभा सदस्य बनेका थिए। आज उनी फेरि एकपटक बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन्। जनताको विश्वास, आफ्नो अनुभव, र अठोटसहित किरण थापा मगर स्वास्थ्यको गन्तव्यलाई अझ अगाडि लैजाने दृढतासहित अघि बढेका छन्।