
काठमाडौं - आज साउन १६, राष्ट्रिय कोदो दिवस। सरकारले भाषण गर्छ, कार्यक्रम हुन्छन्, फोटो खिचिन्छन्। तर मूल प्रश्न भनेको किसानको माटोमा उम्रिएको यो अन्न किन अझै उपेक्षित छ? कोदो केवल अन्न होइन यो इतिहास हो, संस्कृति हो र गाउँघरको जीवनशैली हो।
स्वास्थ्यका दृष्टिले यो सुपर फुड हो भन्ने कुरा विज्ञहरूले बारम्बार दोहोर्याएका छन्। मधुमेह नियन्त्रणदेखि पेटसम्बन्धी समस्या समाधानसम्म यसको उपयोग प्रमाणित छ। तर, विडम्बना के छ भने, जसले कोदो उब्जाउँछ, त्यो किसान अझै बजार मूल्यको लागि सङ्घर्ष गर्छ।
सहरमा विदेशी प्याकेट बन्द खानेकुराको विज्ञापन बजाइन्छ, तर कोदोको बजार सिर्जना गर्ने नीति किन फितलो? के राष्ट्रिय दिवस मनाउनु मात्र हाम्रो कर्तव्य हो, कि किसानसम्म लाभ पुर्याउने ठोस योजना बनाउन हामी गम्भीर छौँ? कोदोलाई केवल भाषणको विषय होइन, राजनीतिक प्राथमिकता र आर्थिक अवसरको रूपमा लिन जरुरी छ। यदि हामीले आजै पहल गरिएन भने कोदो केवल इतिहासका पानामा सीमित हुनेछ। अब समय आएको छ किसानलाई उचित मूल्य, कोदोको बजार विस्तार र उपभोक्तामा जागरण। राष्ट्रिय दिवसको अर्थ त्यति बेला मात्रै हुन्छ जब माटो र पसिनाको मूल्य किसानले आफ्नै हातमा महसुस गर्न पाउँछ।