Harsamaya
बाली खेतमा नछाड्नसहित यी हुन् किसानलाई विभागको सुझाव
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेतीबाली संरक्षणका निम्ति किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले प्रिमनसुनमा हालसम्म देशका अधिकांश ठाउँमा सरदरभन्दा बढी पानी परेकाले भण्डारण गरी राखिएका अन्न, दालबालीमा चिस्यानको समस्या आउन सक्ने भन्दै किसानलाई उत्पादित वस्तुमा क्षति न्यूनीकरण गर्न सावधानी अपनाउन आग्रह गरेको हो । भण्डारण गरिएका खाद्यवस्तुको नियमित अनुगमन तथा बालीलाई खेतमा नछाड्न विभागले किसानलाई सूचित गरेको छ ।

विभागले आउँदो साता मध्याह्नपछि हावाहुरी, चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानुपर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्न भनेको छ ।

किसानलाई प्राविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, बजारीकरणका आवश्यक सल्लाह उपलब्ध गराएर सम्भावित जोखिमबाट संरक्षण तथा क्षति न्यूनीकरण गर्न विभागले काम गर्दै आएको महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले मौसमानुसार हावापानी, प्रकोप तथा प्राविधिक सल्लाह किसानलाई सूचनामार्फत उपलब्ध गराउँदै आएको छ ।

केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारणमा किराबाट जोगाउन भकारीको माथिल्लो भागमा चार–पाँच इन्चजति छहारीमा सुकाएको सुकिलो निम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाका पात प्रयोग गर्न सुझाव दिए ।

केन्द्रले आलुको पुतली (जोताहा किरा)ले सामान्यतया भण्डारणमा असर गर्ने जनाएको छ । आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पारेर नोक्सान गर्ने सम्भावना हुन्छ । केन्द्रले आलु खन्ने समयमा ध्यान पुर्‍याउन तथा सुरक्षित भण्डारण गरेर क्षति न्यूनीकरण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update