Harsamaya
‘असल मानिस मिले, जुटे नहुने के छ र ?’
ग्राफिक्स: हर समय/Har Samaya

स्रष्टा यदुनाथ वसन्तपुरे वि.सं २०५३ देखि नेपाली लेखनक्षेत्रमा उदाएका हुन् । गीत, नाटक, कविता, तांका, हाइकु र फाचल विधामा हात हालेका कोइरालाको पहिलो कृति परिस्थितिले जन्माएका अनुहारहरू (कवितासङ्ग्रह २०५३) हो । शिक्षण पेशाबाट  अवकाशप्राप्त कोइरालाका हालसम्म १७ वटा कृति प्रकाशन भइसेकका छन् । सिन्धुपाल्चोकमा जन्मिएका वसन्तपुरेको वास्तविक नाम यदुनाथ कोइराला हो । लिलादेवी र रामप्रसादका छोरा वसन्तपुरेका दुई सय दुई छन्द कविता छिट्टै बजारमा हामीसामु देखा पर्नेछ ।

उनका हालसम्मका कृतिमा परिस्थितिले जन्माएका अनुहारहरू (कवितासङ्ग्रह) बादलभित्रको गाउँमा (नाटक), ऐतिहासिक क्रान्ति (गीतसङ्ग्रह), बाँडेगाउँ दर्पण (भिलेज प्रोफाइल), मौसमी खेती (कवितासङ्ग्रह), मायाको तरेली (गीतसङ्ग्रह), प्रजातन्त्र (हाइकूसङ्गह), मास्टर कमन (नाटक), आँधीबेहरी (ताङ्कासङ्ग्रह) निशाना गीतसङ्ग्रह) परिबन्धभित्र (खण्डकाव्य), म किसान बिर्खे (खण्डकाव्य), तारापुञ्ज (फाचलसङ्ग्रह), झ्यालखाना (कवितासङ्ग्रह), ओझेल (कवितासङ्ग्रह), वेदना (शोककाव्य), मेरो भूमिमा (कवितासङ्ग्रह) हुन् । आफ्नो लेखन गतिविधिबारे वसन्तपुरे भन्छन्– ‘देशमा बढिरहेको विसङ्गति तथा कुकार्यको खण्डन गर्दै अघि बढ्न कलम जागा छ । म यिनै कुरामा सचेत हुँदै कविता, गीत र हाइकू लेखनतर्फ कलम चलाइरहेको छु । असल मानिस मिले, जुटे नहुने के छ र ? मानिसमा यस्ता भावको खडेरी परेको छ । म खाऊँ मै लाऊँ भन्ने भाव तोडेर यो देशको माटो उठाउनुपर्छ ।’उनै वसन्तपुरेसँग हर समयका जयराम सापकोटाले गरेको कुराकानी ।

यहाँको सहित्य लेखन कहिलेबाट शुरू भयो ?
प्राथमिक तह अध्ययन गर्दादेखि नै चासो बढ्दा लेखन कार्य शुरू भएको हो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?
काका इन्द्रप्रसाद कोइरालाबाट प्रभावित भएँ । ढुङ्गाघरका इन्द्र काका भनी चिन्दै गर्दा काका कविता लेखेर सुनाउने गर्नुहुन्थ्यो । म सुन्नमा चासो दिन्थेँ । म सिपातीनघरे संस्कृत विद्यालयमा अध्ययन गर्थेँ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ । कविता लेखनमा चासो दिन्थेँ र भाग लिन्थेँ । त्यसैको प्रभाव आज म साहित्यमा डोरिँदैछु ।
 
कसरी बढिरहेको छ त लेखन गतिविधि ?

समय मिल्दाको बखतमा कलम चलाउँछु । कहिले कुनै लेखकका कृति पाउँदा अध्ययन गर्छु । समय पर्याप्त छ समय छोटो, कर्कलाको पानीजस्तै जिन्दगानी भन्नेलाई म मूर्ख भन्छु । म ५८ वसन्त पार गर्दैछु भने यो छोटो अवधिको जीवन हो ? त्यसैले समाजमा अचेत कुराको भ्रम फैलाउने धेरै छन् र आज सच्चा देशभक्त स्रष्टा सर्जकका लागि देशप्रेम जाग्नेखालका विचार साहित्यको माध्यमबाट दिँदै जानुपर्छ भन्ने ख्याल हुनुपर्छ । यसै परिधिमा रहेर गणतन्त्रको संरक्षण भाव विचार साथै देशमा बढिरहेको विसङ्गति तथा कुकार्यको खण्डन गर्दै अघि बढ्न कलम जागा छ । म यिनै कुरामा सचेत हुँदै कविता विधा गीत र हाइकू लेखनतर्फ कलम चलाइरहेको छु । असल मानिस मिले, जुटे नहुने के छ र ? मानिसमा यस्ता भावको खडेरी परेको छ । म खाउँ मै लाउँ भन्ने भाव तोडेर यो सुन्दर माटो उठाउनुपर्छ । कहींकतै गणतन्त्र विरोधका गुन्जन पनि छ तर यो उचित, हुने कुरा होइन । लाखौँ लाख नेपालीले ठूलो त्यागले ल्याएको व्यवस्था सुन्दर व्यवस्था, आजको अपरिहार्य हो । हिजोका झुट व्यवस्थाका कुपात्र ल्याउने कुचेष्टा कसैले नगरून् । अब फेरिएको व्यवस्थामा हामी असल भएर अवस्था सुधारेर नेपाल सुन्दर बनाउँदै जानु छ । प्रकृतिले दिइको सुन्दरतामाथि सामाजिक, आर्थिक र सबैखाले विकासले चुल्याउँदै जानु र आफ्नो माटाको माया गर्नु असल नेपालीको दायित्व हो । यिनै भावमा लुट्पुटिँदै लेखन र अध्ययनलाई समय दिइरहेछु । हाम्रा शास्त्रीय पद्धतिअनुरूप साहित्यमा लेखिँदै आएमा छन्दशास्त्र तथा छन्दज्ञानसँग रुमल्लिँदै २०२ छन्द ज्ञान कविता लेखन कार्य अघि बढिरहेको छ । शायद केही समयभित्र कार्य पूरा गर्नेछु । साथै मेरो अध्यक्षताको संस्था अविरल साहित्य समाजलाई सक्रिय गराउने अभियानमा पनि बढिरहेको छु । विभिन्न साहित्यिक गतिविधिमा पनि उपस्थित हँुदै आफ्नो साहित्यिक कार्यमा हिँडिरहेको छु र खुशी यसैमा बढी लागिरहेको छ । 

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
लेखनमा यथार्थता हुनुपर्ने हो तर त्यो भइदिएको छैन । अध्ययन र अनुसन्धान नभई कोरा असाहित्यिक व्यक्ति म साहित्यकार हुँ भनी गर्व गर्नेहरू पनि छन् । राजनीतिक दलको पछि लाग्ने, व्यक्तिको गुणगान गाउने र खोक्रो आदर्श बोकेका लेखन विधालाई कमजोर पार्नेहरू नभएका होइनन् । वर्तमान सन्दर्भमा लेखिएका विविधखाले पुस्तक अध्ययन गर्न त सकेको छैन । यो विषय समालोचक हो तर पनि हचुवा तरिकाले साहित्यलाई तोडमोड, भाषा व्याकरणको ख्याल नराखी अघि बढनेहरू पनि छन् ।

साहित्यमा विधा छुट्टयाएर कुनै विषयको गहिरो अध्ययन र अनुसन्धान गरी साहित्य दिन सक्नुपर्दछ । असल सर्जक वा स्रष्टाको कर्म हुन सक्छ । आफ्नो जमिन बिर्सन्छ– उही मातृभूमिको वर्णन गर्छ । जो कुलतमा छ– उही कुलतको विरुद्धमा व्याख्या गर्छ । जो देश लुट्छ– उही म राष्ट्रभक्त हुँ भन्छ । जो पढ्दैन– मजस्तो ज्ञानी पुरुष कोही छैन भन्छ । जो यो सुन्दर व्यवस्था चिन्दैन– उही यो व्यवस्थाविरुद्ध बोल्छ । यस्ता विसङ्गतिमा अल्झिएका मान्छेको हुल र स्रष्टा हामीबीच नभएका होइनन् । व्यक्तिमा सिद्धान्त र व्यवहार एकै हुनुपर्दछ । समाजको अवस्था बदल्नुपर्दछ । गति, प्रगति र विज्ञान जोडिने सृजना आउन सके देश फूलबारी बन्छ, घर बन्छ र देश उठ्छ । यस्तै खाले विचारसँगको साहित्य हुन्छ कि ? मेरो विचारको सन्तुष्टि त्यहाँ मिल्छ– जहाँ कर्मले सही प्रमाणित गर्न सकोस् ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
म १/२ वटा खण्डकाव्य र २०२ वटा छन्दकविता लेखन यात्रामा र अविरल साहित्य समाज अंक ६ को प्रकाशनमा व्यस्त छुँ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
सही विचार र दर्शनको मूल्यांकन गरी राज्यले उचित पुरस्कारको व्यवस्था गर्नुपर्दछ । स्रष्टा समाजका ऐना हुन् भन्ने कुराको प्रमाणित गर्न राज्यको तत्परता रहनुपर्दछ र दोस्रो सर्जक स्वयं सर्जकजस्तै बन्नुपर्दछ ।

तपार्ईंको साहित्यक आदर्श के हो ?
साहित्यले समाजलाई सही बाटो हिँडाउन सक्दछ । मानव समाजको परिवेशभित्र घुमिरहने चक्र (समय) को दृश्यचित्र वा सभ्यताको प्रतीक साहित्य हो मेरो बुझाइमा । तसर्थ यथार्थता सत्यताको विचार पस्कनु र समाजलाई दिन सक्नु स्रष्टाको कर्तव्य हो र म यो आदर्शभित्र उभिएको छु ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
जहाँसम्म नेपाली लेखकले लेखन अभ्यासमा दिनुपर्ने विचार हो– त्यो दिन सकिरहेका छैनन् किन भन्दा व्यवहार र विचारलाई तराजुमा राखेर अघि बढनु नै हो । आदर्श एकातर्फ व्यवहार अर्कोतर्फ । समयको बोध गराउने साहित्य आज अघि बढिरहेको छैन, सबै सर्जकले मनन गर्नुपर्ने मुख्य विषय त्यही हो कि माटोको माया भन्ने विषयबारे मन्थन गर्दा लेख्दा, आफू त्यो माटामा छौँ कि छैनौँ ? आर्थिक अवस्थाबारे चर्चा गर्दा आफू आर्थिक कुरामा झुकेका छौँ कि छैनौँ ? सृजनामा देश बोलिरहँदा सर्वसाधारणको भावना बोलेको छ कि छैन ? यिनै विषयप्रति गहिरिएर लेख्न सक्नु कुशल स्रष्टाको दायित्व हो । तर कामकुरो एकातर्फ कुम्लो बोकी अर्काेतर्फ भनेझैँ लेखकले स्वयं आफ्नो दायित्व बिर्सेका छन् । विचार फितलो रूपमा आएको छ । हाम्रो पूर्वीय दर्शनको गति छाडेर जथाभावी शैलीमा, छन्द, अलङ्कार, भाव, विचार छाडेर लेख्ने प्रवृत्ति मौलाउँदो छ । यसप्रति कुशल समालोचक र असल पाठकले भनिरहेका छन् साहित्य साहित्यजस्तो होस् । यस विषय क्रममा म आफैँ पछि परेको महशुस हुन्छ ।

तपार्ईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
म आफूले जति सोच्न र लेख्न सकेँ– त्यसमा सन्तुष्ट छु यो मानेमा कि जति सृजना पाठकसामु गए राम्रो छ ठान्छु । तर जति लेख्न र समाजलाई दिनुपर्ने हो– त्यो सकिरहेको छैन । विश्व हल्लाउने कार्लमाक्र्सले पनि पूर्ण विचार ज्ञान बाँड्न सकेनन् वेदव्यासले लेखेको काव्य/महाकाव्यमा त सबै कुरा आएका छैनन् भनिएको छ र चाणक्यले आफ्ना उद्देश्य पूरा गर्न सकेका थिएनन् भने सामान्य लेखकले सबै कुराले पोख्त भाव, विचार र दर्शन पस्कन गाह्रो छ, अध्ययनको क्रमप्रति स्रष्टा तल्लीन हुनुपर्छ । जे जति दिन सकियो– त्यसमा गर्व छ । समाजलाई केही दिँदैछु भन्ने भाव मनमा जागेको छ ।

साहित्य लेखकमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो र आजको लेखनमा फरक छ । हिजो विज्ञान प्रविधि पछि थियो । त्यसैगरी साहित्यमा लाग्ने गर्थे । अर्र्धसामन्ती व्यवस्था र त्यसै अवस्थामा लुकेर पढलेख गर्नुपर्दथ्यो । प्रविधिको विकास नहुँदा लेखक मुस्किलले लेखेर बाँची अघि बढेका थिए तर आज सहज अवस्था छ । प्रविधिले सहज बनाइदिएको छ अवस्था पनि खुला छ । आफ्ना विचार निर्धक्क खोल्न पाइन्छ– कुनै दमन र धरपकड छैन । साहित्य लेखनमा कति विचार पस्कन सकिन्छ या स्रष्टाले दिएको साहित्यका चेतनाले समाजलाई कति जागरुक गराउन सक्छ भन्ने कुरा हो । जनता जागा भएर ल्याएको सुन्दर गणतान्त्रिक व्यवस्था र यही व्यवस्थाका लागि सबै तह तप्काबाट पुर्याएको योगदानको सम्झना आउँछ । जतिबेला गीतकार जनबोली लिएर सडक आए, विद्रोह गरे, क्रूर सत्ताविरुद्ध त्यसै गरी किसान, व्यापारी, कर्मचारी, मजदुर, लेखक, वकिल हुँदै सर्वसाधारणले लडेर ल्याएको व्यवस्थाभित्र रहेर खुला रूपमा बहस तथा अध्ययन लेखन गर्न पाउनु आफूले पनि उपलब्धि नै मानेका छु भने हिजो के थियो र आजको अवस्थाबारे नेपाली सोचिरहेका छन् । सुन्दर व्यवस्थामा पसेर अवस्थालाई कुरूप बनाउने, लुट्ने, ढाँट्नेप्रति खबरदारी गर्दै उचित दण्ड माग गर्दै साहित्य अघि बढाउनुपर्छ भन्ने सचेत स्रष्टाको दायित्व हो । समाज बदलिनुपर्छ– जहाँ नेपालीत्व झल्कन सकोस् । देशको शान उच्च रहोस् भन्ने भावना स्वयं लेखकमा हुनुपर्छ र सृजना बोल्नुपर्दछ ।

तपार्ईंंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्यले समाजको चित्रण गर्नुपर्दछ । रस, भाव र अलंकारयुक्त वाक्य प्रस्तुत गर्न सक्नु कुशल स्रष्टाको क्षमता हो । वस्तुस्थिति वर्णनले मात्र साहित्य बन्दैन । लेखन सीपभित्र शब्द संयोजन र चमत्कारी लेखन साहित्यमा मेरुदण्ड हुने तथा लेखकको क्षमता देखिने भएकोले नै साहित्य समाजको पथ वा ऐना बनेको हो ।

तसर्थ भन्नुपर्दा जीवनको मूल मर्म, जीवन के हो ? समाज कसरी अडिनुपर्दछ । समाज कसरी अघि बढदछ । हिजो के थियो ? आज के हुँदैछ र भोलि कसरी चल्छ भन्ने कुरा साहित्यमा उजागर हुने गर्दछ । नेपालको सृष्टिदेखि आजसम्म नेपाली भाषा, सँस्कृति पद्धति शासन गतिबारे नेपाली साहित्यले जानकारी गर्दै आएको व्यहोरा हरेक पाठ्यसामग्रीबाट पाएका छौँ । प्राचीनकालीन, माध्यमिक काल र आधुनिककालका स्रष्टाबाट साहित्यक इतिहास र राज्यको अवस्था बुझ्न सकिन्छ । मोतिराम, भानुभक्त, लेखनाथ हुँदै लक्ष्मीप्रसाद देवकोटा तथा पछिल्लो समयमा धेरै अग्रज साहित्यकारले नेपाली भाषा साहित्य र समाज देशको विश्लेषण गर्दै आएका छन् । उनकै प्रेरणाले देखाएको बाटोतर्फ सबै लेखक स्रष्टा साहित्यकार अघि बढनुपर्छ । लेखकको कलमले यिनै कुरा खोज्छन् ।

लेखनप्रति के ले प्रेरणा दिन्छ कस्तो लाग्छ ?
लेखकलाई लेखनमा प्रेरणा कुनै पनि वस्तुस्थिति, कुनै घटना, प्राकृतिक सुन्दरता र परिस्थितिले ल्याएका अवस्था, समय, सुखःदुःख आदि कथा बनेर आउँछन्– त्यतिबेला शब्द फुर्छ र स्रष्टाले उतार्दछन् प्रेरणा यसरी मिल्दछ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
जतिबेला म एकान्तमा रहन्छु– त्यतिबेला मलाई पढ्न वा लेख्न मन जागेर आउँछ र म अगाडि देखिन आएका घटनाबाट प्रभावित भइहाल्छु र लेख्न थाल्छु । मेरो अध्ययन र लेख्न समय भने रात्रिकालमा बढी सक्रिय हुन्छु । प्रायः लेख्ने पढ्ने काम बेलुकीका खानापछि हुने गर्दछ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेख्न र पढ्न एकान्त नै हुनुपर्छ । खुला चौर, पहाड, हिमाल वा वनतिर जान लेखक रमाउँछन् जस्तो लाग्छ । म सधैँ एकान्त र रमाइलो स्थलमा पुगेपछि सृजना कोर्न थाल्छु कि अध्ययन गर्न रुचाउँछु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
लेख्न विषयवस्तु आफूले छान्न पर्दैन । कुनै पनि घटना कसैप्रति अन्याय गर्दै गरेको अवस्था आँखामा पर्न आउँदा स्वस्फूर्त सृजना जन्मन्छ । स्रष्टालाई लेख्न प्रकृतिले साथ दिन्छ, समय बलवान् हुन्छ र समयले साथ दिन्छ । मस्तिष्कमा पर्न आएको दृश्यचित्रले लेखकको कलम अघि बढिरहन्छ ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
स्रष्टा स्वयं अनुशासित हुनुपर्दछ । अध्ययनशील हुनु पर्दछ । र तेस्रो अरुलाह सम्मान गर्न सक्ने हुनु पर्दछ । गुणी, अधयनशील सबैमा असल व्यवहार प्रस्तुत हुन सके लेखक लेखक भएर बाच्न सक्दछ । जति हाम्रा पूर्वज अग्रज स्रष्टाका विचार समाज उठाउन सक्ने विचार लिएर लेखक कलम चलाउँछन् भने उने स्रष्टा समाजका पथ प्रदर्शक हुन्छन् । यति भएर पनि पुग्दैन लेखकले सत्य तथ्य लेख्नुपर्दछ । अत्याचार गर्ने विरुद्ध लेखिनुपर्दछ र  गरिबको हित पक्षमा लेख्न र स्रष्टा सामाजिक हुन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update