Harsamaya
गोली प्रहार गरी सिरहामा प्रहरीले समात्यो लागूऔषध कारोबारी

सिराहा - सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसुण्डी जाने बाटोमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय नागरिकलाई लागु औषधसहित नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिराहा र लागु औषध नियन्त्रण ब्युरो गोल बजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो । तर चालक नरोकी भागेपछि प्रहरी नायब निरीक्षक राम बालक ठाकुरले टाइप–७७ पेस्तोल प्रयोग गरी एक राउन्ड गोली प्रहार गरेका थिए ।

गोली प्रहारपछि मोटरसाइकलसहित नियन्त्रणमा लिइएका व्यक्ति भारतको मधुवनी जिल्लास्थित वीर पुर ग्राम पञ्चायत–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन्। उनको साथबाट अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागु औषध र मोटरसाइकलसहित पासवानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी तथा डिएसपी वीरेन्द्र कुमार पासवानका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update