
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरिन् ।
उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु । मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलित हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’
उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट वञ्चित गर्न कदापि नमिल्ने धारणा राखिन् ।
उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट वञ्चित गर्न कदापि पनि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’