Harsamaya
भण्डारीको प्रष्टोक्ति : संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहीँकतै दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट वन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् । 

उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहीँकतै पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कुरा छैन् ।’ 

यस्तै, उनले राजनीतिक व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।

उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन । म एक राजनीतिक व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सबल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’ 

मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update