
नयाँ दिल्ली - भारतमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स खाता ब्लक गरिएको छ । कानुनी मागका कारण यसो गरिएको बताइएको छ । तर रोयटर्सले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन ।
रोयटर्स टेक न्युज रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसिया र रोयटर्स चाइना लगायत रोयटर्स समाचार एजेन्सीका धेरै अन्य खाताहरूले भारतमा अझै पनि सहज रूपमा काम गरिरहेका छन् ।
अमेरिका लगायत कयौँ देशमा यस्ता कानुन छन् जो पोस्ट र एकाउन्टमा पोस्ट गरिएका सामग्रीमा लागू हुन्छन् भनेर एक्सले भनेको छ । ‘हाम्रा सेवाहरू निर्बाध रूपमा प्रदान गर्नको लागि यदि हामीले कुनै देशको आधिकारिक संस्थाबाट वैध र जायज अनुरोध प्राप्त गर्यौं भने निश्चित सामग्री ब्लक गर्न आवश्यक हुनसक्छ,’ एक्सले लेखेको छ ।
अदालतको आदेश प्राप्त भयो भने सामग्री रोक्का गर्न सकिने पनि उसले भनेको छ । यसबाहेक यो कारबाही स्थानीय कानुनको आधारमा गर्न सकिने पनि बताइएको छ ।