Harsamaya
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
स्पेनको भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किंदै ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री  ओली आज स्वदेश फर्कन लागेका हुन् ।आज अपराह्न ३:४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । 

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । उनलेअल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे। यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update