काठमाडौं - जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश राजोरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल पक्राउ परेको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ ।
एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एसोसिएसनका अध्यक्ष डा. सुवासचन्द्र बरालद्वारा जारी विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने उल्लेख गरिएको छ ।
आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेसागत मर्यादामाथि प्रश्न उठ्ने एसोसिएसनको भनाइ छ ।
एसोसिएसनले पक्राउ परेका इन्जिनियरहरूको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा उनीहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।
त्यस्तै, कानुनबमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्नसमेत एसोसिएसनले आग्रह गरेको छ ।

