जानुका नेपाल पौडेल (पीएचडी) एक शिक्षक हुन् । उनी नील बाराही माध्यमिक विद्यालय, टंकेश्वर कालिमाटीकी प्रधानाध्यापक हुन् । उनी पिता स्व. टंकनाथ शास्त्री र माता मोहमाया नेपालकी कोखबाट जन्मिएकी हुन् । उनका श्रीमान् बाबुराम पौडेल पूर्व सचिव थिए । उनका दुई छोरा र बुहारी छन् ।
उनको लेखन यात्रा सानैदेखि सुरु भएको हो। कपीमा आफ्नो मनमा लागेका कुराहरू दैनिकी जस्तो लेख्थिन्। दुखी भएको दिन, खुशी भएको दिन स्कूल पढ्दाबाट नै लेख्ने गर्थिन्। तर त्यसलाई दस्तावेजीकरण गरिएको थिएन। आफ्नो लागि लेख्ने राख्ने गर्थिन्। केटा-केटी हुर्काइसकेपछि  जानुकालाई समय व्यवस्थापन गर्न सजिलो भयो । उनले पीएचडीबाट आफ्ना रुचिहरू पूरा गर्न सुरु गरिन् । त्यतिबेला पनि उनी प्रधानाध्यापक थिइन् ।  उनले प्रधानाध्यापक भएर २० वर्ष बिताईसकेकी छिन् । उनले विभिन्न पत्रपत्रिकाहरू (गोरखापत्र, अन्नपूर्ण पोस्ट आदि)मा लेखहरू लेखेकी छिन् । विभिन्न विद्यालयहरूबाट प्रकाशन हुने स्मारिकाहरूमा उनका लेख पढ्न पाइन्छ। गुगलमा डा. जानुका नेपाल भनेर खोज्दा महिलासम्बन्धी विषयका लेखहरू पाउन सकिन्छ । त्यसरी नियमित रूपमा नै उनको लेखाइ जारी रह्यो । तर,  कथाहरू भने लेखकी थिइनन्। अध्यात्मिक दर्शनमा पीएचडी गरेकी उनले त्यसको उपयोग आफ्नै स्कूलमा गरेकी छिन्। उनले विद्यालयमा संस्कारयुक्त शिक्षा सुरु गरिन् । जसले गर्दा एउटा नैतिक मूल्य मान्यताको शिक्षा दिन उनी सफल भइन् । 
 
विद्यार्थीहरू उनलाई उत्प्रेरक व्यक्तित्व मान्छन् । उनीहरूलाई पढ्नुपर्छ, केही गर्नुपर्छ, जीवनमा केही बन्नुपर्छ भन्ने उत्प्रेरणा दिइरहन्छिन । विद्यार्थीहरूका धेरै समस्या छन् । सामुदायिक विद्यालयहरूमा विशेष गरेर जन्म दर्ताका समस्या, नागरिकताका समस्या, उनीहरूले भोगेका गरिबीका समस्या, आफ्नै माता-पिता नभएको समस्या यस्ता विविध समस्या विद्यार्थीहरूमा देखेका कारणले उनलाई एकदमै पीडाबोध हुन्थ्यो । उनले  तिनै विद्यार्थीहरूलाई लेखनको केन्द्रबिन्दु बनाएर कथासंग्रह ‘तनुजा’ प्रकाशन गरिन् । त्यो कथा संग्रह यति प्रख्यात भयो उनले प्रथम पुरस्कार पाइन् ।  त्यसले गर्दा अझै उनलाई लेख्नुपर्छ भन्ने प्रेरणा जाग्यो । उनले विगत ३ वर्ष देखि पौराणिक नारीहरूको विषयमा लेख्दै आइन् । 

उनले नारीको बारेमा त् लेखिन् तर नारी र पुरुष दुवैको लागि यो कथा सङ्ग्रह उपयोगी छ । राजनीति गर्ने पुरुष, महिला, उच्च ओहोदामा बस्ने प्रधानमन्त्री र उहाँको पत्नीका लागि पनि यो उपयोगी छ । कसरी स्वच्छ राजनीति गर्ने र कस्ता किसिमका राजनीतिमा त्याग हुनु पर्छ पुस्तकमा उल्लेख गरिएको छ । पुरुष प्रधान समाजमा नारीले कस्ता-कस्ता समस्याहरू खेप्नु पर्छ र त्यसलाई धैर्यता पूर्वक महिलाले कसरी सामना गर्छन् भन्ने कुरा उनले कथामा उल्लेख गरेकी छिन् । त्यसमा ३ युगका नारीहरूको विषयमा लेखिएको छ । सत्य युगका नारी भनेका श्रृष्टि रहेछन्, त्रेता युगका नारी भनेका आदर्श रहेछन् अनि द्वापर युगमा नारी संघर्ष के हो त ? कसरी संघर्ष गरेर आफ्नो पहिचान कायम गर्नु पर्छ भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैले यो कथा सङ्ग्रह सबैले पढेर केही न् केही शिक्षा लिन सक्छन् भन्ने उनलाई लाग्छ । उनै पौडेलसँग उनको नयाँ प्रकाशित ‘जननी कुञ्ज’ र साहित्यका बारे हर समयले गरेको कुराकानी । 
कसबाट र कसरी प्रभावित हुनुभयो ?
मेरा विद्यार्थी, मेरा परिवार सबै प्रेरणाका स्रोत हुनुहुन्छ । मलाई पीएचडी गराउने गुरु प्रा.डा रामचन्द्र लम्साल पनि हुनुहुन्छ । पीएचडी गरेपछि तपाईंले केही लेख्नु पर्छ भन्ने गुरुको उत्पेरणा थियो । शिक्षा र प्रेरणा भनेको फालेको कागजमा पनि हुन्छ । फालेको कागजमा केही छ भनेर हेर्दा केही कुरा लिन सकिदो रहेछ । तर त्यो लिने मान्छेको कुरा मात्र फरक हुन्छ । दिने मान्छेले कसरी दिन्छ र लिने मान्छेले कसरी लिन्छ भन्ने कुरा हो । फालेको कागज उसले लेख्यो, अर्कोले पढ्यो फ्याल्दियो । तर मेरो लागि त्यो कागज उत्प्रेरणा बन्यो ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ? वर्तमान लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
जे मैले लेखेको छु त्यसमा म एकदमै सन्तुष्ट छु । ‘तनुजा’को अर्को संस्करणका लागी सबैले माग गरिरहनुभएको छ । धेरैले तनुजामा थेसिस लेखिरहनु भएको छ । विश्वविद्यालयका स्नातक र स्नातकोतरका भाइबहिनीहरूले । तनुजा बजारमा आको थियो सकिसक्यो । फेरि प्रकाशन गर्नु छ । यो किताबले अझै धेरै विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूको थेसिसको एउटा पत्र बन्छ भन्ने मलाई लागेको छ । अब मैले लेख्नु पर्छ । अझ धेरै लेख्नु पर्छ । 
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ? तपाईंलाई राष्ट्रले केही सहयोग गरेको छ त ?
आफ्नो खुट्टामा आफैं उभिन पर्छ, कर्म गर्नु पर्छ । भगवान श्रीकृष्णको बोलीबाट म प्रभावित भएको छु । जुन हामीले मिथकहरू पढ्न पाइन्छ नि । त्यस कारणले मलाई आशा कसैको छैन । यो दुनियाँमा कसैले गर्ला भन्ने छैन । राज्यले पनि साहित्यको क्षेत्रमा काम गर्ने लाई त्यति गरेको छैन । जति पनि फाउण्डेसनहरू तयार भएका छन् उहाँहरुले पुरस्कारको राशि राखेर त्यो मार्फत पुरस्कार पाएका छन् । त्यस कारणले राज्य नै लागेर पुरस्कार वितरण गरेको भनेको त्यो थोरै स्रष्टा, चिनिएका स्रस्टा र लाखौँमा एक /दुई प्रतिशत हुनुहुन्छ । त्यहाँ भित्र म भिजिसक्न सकेकी छैन । मेरो क्षेत्र भनेको शिक्षा हो । त्यता म अत्यन्त भिजेकी छु । त्यतैबाट साहित्यमा प्रवेश गरेकी हुँ । मलाई त्यस्तो सारै गर्दिएला भन्ने आशा काँही देख्दिन र म चाहान्न  पनि ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
महिलाको विषयमा मैले लेखेको छु । महिलाहरूलाई सबै भन्दा महत्वपूर्ण चुनौती भनेको समय व्यवस्थापन हो । समय व्यवस्थापन गर्न जान्यो भने सफल भयो यदि जानेन भने सफल भइन्न । एउटा उचाइमा पुग्न सबैलाई रहर हुन्छ । सबै त्यहाँ पुग्न चाहन्छन् । तर कुन मध्यमबाट पुग्ने र कुन बाटो अपनाउने भन्ने सबैलाई दोधार हुन्छ । त्यो दोधारमा मेरो बाटो यो हो भनेर पहिचान गर्नु भनेको पहिलो सफलताको सिँढी हो । त्यो सिँढी उक्लिनु भनेको धेरै गाह्रो कुरा हो, धेरै ठूलो चुनौती हो । जुन बेला म जागिरे थिए, मेरो अध्ययनको क्रम जारी थियो र मेरा छोराछोरी साना थिए, मेरो सासू आमा बुढी हुनुहुन्थ्यो त्यही पनि समय व्यवस्थापन गरे ।  मेरा आफन्तहरू मेरा आदरणीय व्यक्तित्वहरूको सहानुभूति पाउँदै गए । त्यसले गर्दा मलाई समय व्यवस्थापन गर्न सजिलो भयो  । मेरा परिवारका सदस्यले मलाई यति धेरै माया गर्नुहुन्छ जसले गर्दा मेरो उहाँहरू प्रेरणाका स्रोत बन्नु भयो  । आज सम्मको मेरो यात्रामा म असफल नै छैन  । म हरेक कुरामा सफल भएको छु । त्यो नै मेरो सन्तुष्टि हो । 
तपाईंको विचारमा अब कस्तो साहित्य लेखिनुपर्छ ? अब कस्तो लेख्ने सोच बनाउनु भएको छ ?
अबको दिनमा भनेको समाज रूपान्तरण हो । समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ ? साहित्य त एउटा समाजको ऐना हो । साहित्य बाटनै मान्छेले आफ्नो मनका व्यथा-पिडाहरू समाजमा ल्याइदिन्छ र समाजले त्यसलाई ग्रहण गरेर परिवर्तन गर्छ । त्यो परिवर्तन गर्नलाई हिजोको पौराणिक कुरा, मिथक कुरामात्र लेखेर समाज परिवर्तन हुँदैन । हिजो र आजको तुलना गर्न सक्नु पर्यो र आजको समाजको माग के छ ? आवश्यकता के छ ? बुझ्नुपर्छ । अध्ययन अनुसन्धान गर्नु पर्छ। यही विषयमा लेख्छु भन्ने कुरा होइन, किताब लेख्दा मैले धेरै अध्ययन गरे, अनुसन्धान गरे, धेरै समय लाग्यो । 
-1751375707.jpg)
अन्त्यमा किताबको विषय र सन्देश केही छ त ?
यो किताबमा ३ वटा युगलाई समेटिएको छ। त्यो ३ वटा युगले आजको युगलाई दिने सन्देश छ। आजको युगलाई के सन्देश दिने ? महिलालाई के दिने ? एउटा शिक्षित महिला र नेतृत्वमा रहेको महिलालाई के दिने, एउटा घरायसी महिलालाई के दिने, अनि युवा पुस्तालाई के शिक्षा दिने र एउटा राजनीतिकर्मीलाई के शिक्षा दिने, हरेक पाटोलाई छोएको छ। त्यस कारणले सबै को एउटा प्रिय कथा संग्रह यो किताब बन्नेछ भन्ने मैले आशा लिएको छु।
किताब छापिन्छन्, पत्रपत्रिका छापिन्छन्, तर त्यहाँ छापिएका कुरा पढेर मैले मेरो जीवनमा के लिने भन्ने कुरा पाठकले बुझ्नुपर्छ र लिन सक्नुपर्छ । लिने सन्देश धेरै छन् । यो किताबको अझै धेरै माग हुन्छ भन्ने मलाई लाग्छ । अब समीक्षा आउँछन् यत्रा विद्यत् व्यक्तिहरूले पढ्नु भएको छ । पढ्नु हुनेछ र उहाँहरूले समीक्षा गरेर समालोचना गरेर मलाई दिनु हुन्छ भन्ने विश्वास हो । भुँडी पुराण प्रकाशनले यो किताब प्रकाशन गर्दिएको छ । भुँडी पुराण प्रकाशनले विभिन्न पुस्तक पसलहरूमा यो किताब पठाउनु हुन्छ। त्यहाँबाट लिएर पढ्नु होला भनेर सम्पूर्ण पाठकवृन्दहरूमा मा अनुरोध गर्दछु ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    