काठमाडौं - सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्व सचिव रघुराम विष्ट नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा पूर्व सचिव विष्ट र सदस्यहरूमा पूर्व सहसचिवहरू रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज पत्रकार सम्मेलन गरेर असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । यस्तै बैठकले विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुल अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
यसै गरी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी, धनकुटा तथा श्री गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृत स्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतको निर्णय गरेको छ ।