Harsamaya

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संस्थापक डा. बाबुराम भट्टराईले ‘मञ्‍जिरा – द म्युटेड मेलोडी’ नाटक हेरेपछि भावुक प्रतिक्रिया दिएका छन्। निर्देशक सोमनाथ खनालद्वारा लिखित तथा निर्देशित यस नाटकले नेपालको अपूर्ण शान्ति प्रक्रिया, सत्य निरूपण तथा मेलमिलाप आयोगजस्ता संवेदनशील विषयहरूलाई कलात्मक रूपमा उजागर गरेको भन्दै उनले प्रशंसा व्यक्त गरे।

‘यो प्रस्तुतिका हिसाबले त उत्कृष्ट छँदैछ, तर विषयवस्तुको सामयिकता पनि त्यति नै उपयुक्त छ’, शुक्रबार नाटक हेरेपछि भट्टराईले प्रतिक्रिया दिँदै भने, ‘२० वर्षदेखि लम्बिएको शान्ति प्रक्रिया पूरा गर्ने चुनौती अझै पनि छ र मञ्जिरा नाटकले त्यसको गहिरो गम्भीरतालाई कलात्मक रूपमा दर्शकहरूसमक्ष ल्याएको छ।’

नाटकले विगतका विद्रोह, सत्ता र आयोगहरूको असफलतालाई संकेत गर्ने उनको भनाइ छ । ‘आजको सन्दर्भमा सबै पक्षले आत्मआलोचना गर्दै दिगो शान्तिको मार्गमा अघि बढ्नुपर्ने सन्देश नाटकले दिन्छ’, उनले भने ।

भट्टराईले मञ्‍जिरा नाटक विशेषतः सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी र सत्ता पक्षका नेताहरूले अनिवार्य हेर्नुपर्ने धारणा राखे। ‘यो नाटक मार्गदर्शन दिने किसिमको छ’,उनले भने, ‘सत्यको खोजी र न्यायको सम्पादन दुवैको सन्तुलन खोज्ने प्रयास गरिएको छ’ । 

‘रंगमञ्च उपेक्षित, राज्य गम्भीर होस्’
उनले रंगमञ्‍चमा राज्यको बजेटीय प्राथमिकतामाथि पनि प्रश्न उठाए। ‘सत्तामा पुगेपछि दलीय र व्यक्तिगत स्वार्थ अनुसार बजेट निर्माण हुने परिपाटीले संस्कृति र रंगकर्मको क्षेत्रमा राज्यको ध्यान पुग्न सकेको छैन’, उनले गुनासो पोखे । 

ड. भट्टराईले सरकार र नीतिनिर्माताहरूलाई रंगमञ्च, कला-संस्कृति तथा साहित्यको महत्व बुझ्न र त्यसमा उचित लगानी गर्न आग्रहसमेत गरे। 

नाटक ‘मञ्जिरा’ अहिले मण्डला थिएटरमा प्रदर्शनमा छ । जसले नेपालमा चलको सशस्त्र द्वन्द्वको अवस्थालाई आफ्नो विषयवस्तु बनाएको छ । आगामी दुई दिन अझै शो बाँकी रहेको जानकारी दिँदै भट्टराईले सबैलाई एकपटक ‘मञ्जिरा’ हेर्न विशेष आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update