Harsamaya
लागूऔषध इन्जेक्सनको एम्पुलसहित निलकुमार पक्राउ
स्याङ्गजा हरिबास गाउँपालिका–४ का ३१ वर्षीय निलकुमार थापा मगर ।

रौतहट - रौतहट प्रहरीले गौरबाट लागूऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहीबार जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित युवकलाई पक्राउ गरेको हो । 

स्याङ्गजा हरिबास गाउँपालिका–४ का ३१ वर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागूऔषधको इन्जेक्सनको एम्पुल सहित पक्राउ गरिएको रौतहट प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए । 

उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए ।

उनलाई लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update