
काठमाडौं - बलात्कार अभियोगमा अदालतबाट सफाइ पाएलगत्तै प्रहरी अधिकारीको क्वार्टरमा गरिएको पार्टीले प्रहरी संस्थामै नैतिकताको प्रश्न उठाएको छ। यस घटनाले सार्वजनिक चासो बढेसँगै मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
राजविराज-६ का आकाश आदर्शलाई जिल्ला अदालत सप्तरीले जेठ ४ गते बलात्कार मुद्दामा सफाइ दिएको थियो। त्यसको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको निवासमा आयोजित पार्टीमा आकाश सहभागी भएको तस्वीर बाहिरिएपछि विवाद चुलिएको हो।
पार्टी प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिनको अवसरमा गरिएको बताइए पनि संयोगले प्रश्नहरू जन्माइरहेका छन् ।
घटना सार्वजनिक भएपछि बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापासँग यसबारे प्रश्न गरेका थिए।
आइजिपी थापाले मधेस प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिए। ‘तस्वीर पुरानै हो भन्ने बुझिएको छ, तर विषय संवेदनशील भएकाले अनुसन्धान थालिएको छ,’ उनले भने।
यस घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता डिएसपी विनोद यादवले जानकारी दिए। समितिलाई यथासिघ्र प्रतिवेदन पेस गर्न भनिएको छ।