Harsamaya
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो
रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ । 

ललितपुर - रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्ग लोक र धर्ती लोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ ।

सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देश वाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ ।

उनले भने, ‘श्री रातो मच्छिन्द्रनाथको रथयात्रा समाप्त भइसकेपछि जावलाखेलमा भोटे जात्रा देखाइसकेपछि रथजात्रा विधिवत् तवरले सम्पन्न भयो भनेर स्वर्ग लोक  र धर्तीलोकमा खबर गर्नुपर्छ भन्ने किवंदन्ती छ ।  सोही बमोजिम यसको जानकारी गराउनका लागि होम गरी एक जोडी भंगेरालाई त्यहाँ छाडिएको हो । जसले स्वर्ग लोकको निम्ति खबर गरिएको मानिन्छ । धर्ती लोकका लागि खबर गर्नलाई एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडेका छौं । यसको महत्व भनेको यही हो ।’

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update