कर्णाली - अविरल वर्षासँगै खसेको पहिरोबाट ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँस्थित रावलवाडामा त्रिपालको गोठमा सुतिरहेका करिब ३३ वर्षीय मनरूप केसीलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।
उनका अनुसार शुक्रबार राति करिब ९ः४५ बजे ढुङ्गाले लागेर घाइते भएका केसीलाई उपचारका लागि लिखु स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको हो।
सोही घटनामा ३८ वर्षीय चन्द्ररूप केसी पनि घाइते भएका छन्। ढाडमा सामान्य चोट लागेका उनको उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।
घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट करिब चार घण्टाको दूरीमा रहेकाले मनरूपको मृत्युको खबर शनिबार बिहान मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ। चन्द्ररूपलाई प्रहरीले उद्धार गरिसकेको छ।

