Harsamaya
महाभारा: युद्धको कथा
ग्राफिक्स : हर समय/Har Samaya

वसन्त बस्नेतको पहिलो उपन्यास महाभारा मूलतः डुक्पाको कहानी हो । सायद होइन कि । महाभारा युद्धको कहानी हो । धर्मको कहानी हो । अँ , महाभारा युद्धकालिन समयमा बाँचेको डुक्पाको कहानी  होला । 

डुक्पा जो पढ्नभन्दा रमाइलो गर्न मन पराउँछ । भोटेको छोरो भइकन पनि लिम्बुलेभन्दा राम्रोसँग पालाम गाउन सक्छ । जो मेलामा नाचेरै मान्छेहरुको आँखाका नानी बन्न सक्छ । आफ्नै स्ट्याइलको ‘डुक्पा डान्स’ मा सबलाइ झुमाउँछ । यसरी बुझ्नुस् कि डुक्पा स्थानीय क्षेत्रको एक सेलिब्रेटी नै हो । 

गाँउठाँउमा यसरी रमाइलो गरेरै जिन्दगी बाँचेको डुक्पा ड्राइभर बन्न मधेस झर्छ र ट्रक चलाउन थाल्छ । समयक्रममा बिस्तारै युद्धको बेला माओवादीलाई सघाउन थाल्छ । युद्ध चर्किदै जाँदा डुक्पा झन् परिबन्धमा पर्दै जान्छ र एक माओवादी नै बन्छ । 

तर जब उसलाई माओवादीको तरिका ठिक लाग्दैन , आफूले नपढेको भएर राम्रोसँग बुझ्न नसकेको सोच्छ । कहिलेकाहीँ सोधेको प्रश्नहरूको पनि चित्तबुझ्दो उत्तर नपाउँदा उ निराश हुन्छ । उसलाई युद्ध नीति राम्रो लाग्दैन , ठीक नभएको थाहा छ तर पनि केही गर्न सक्दैन । 

लेखकले डुक्पा पात्रको दृष्टिकोणबाट युद्धको यथार्थ चित्र प्रस्तुत गर्न खोजेका छन् । कसरी युद्धले मान्छेको समय खोसिदिन्छ, जीवन खोसिदिन्छ र कसरी मान्छे नै खोसिदिन्छ । भनेर देखाएका छन् ।

उपन्यासको बीचतिर बल्ल स्थापित हुने अर्को पनि एउटा पात्र छ तान्छोहाङ । बाबू मिङ्सोको करकापमा धर्म रक्षा गर्नको लागि मधेसबाट लारुम्बा पुग्छ । बाबुसँग मत मतान्तर भइरहने तान्छोहाङलाइ धर्मको नाममा भइराखेको राजनीति मननपरे पनि उ लारुम्बाको रक्षा गर्न बाध्य छ । 

लेखकले यसरी विभिन्न पात्रहरुमार्फत युद्धकालिन समयको चित्रण गरेका छन् । डुक्पा र तान्छोहाङ दुवैलाई युद्ध नीति मन परिरहेको छैन तरपनि त्यहीँ बाटोमा हिँड्नु परेको छ । यसरी कहिले धर्मको नाममा कहिले क्रान्तिको नाममा मानिसहरू चाहना नहुँदा नहुँदै पनि बाध्यताले त्यसको हिस्सा हुन जान्छन् । चाहे युद्ध क्रान्तिको नाममा, राजनीतिको नाममा होस् या धर्मको नाममा होस् परिणाममा विनाश नै देखिन्छ भन्ने कुरा निष्कर्ष बनेर आएको छ । 

उपन्यासको लेखाइ एकदम सरल किसिमको छ जसको कारण पाठकलाई अल्छी लाग्दैन । त्यसैमाथि त्यहाँ लेखिएका पालमले सुनमा सुगन्ध थप्ने काम गरेको छ । डुक्पाको केटालाई ‘केडा’ भन्नेदेखि लिएर ‘ओक्के छ त १’ थेगो पढ्दै गर्दा एक अलग किसिमको मज्जा लाग्छ । 

उपन्यास पढ्दै गर्दा जब बीचमा पुगेर लारुम्बाको कुरा आउँछ त्यहाँनिर म एकछिन सोच्न बाध्य भएँ । अगाडिदेखि पढ्दै आएको माओवादी युद्धको कुरा यहाँ आइपुगेपछि एकछिन गायब नै हुन्छ भनौँ न १ अचानक उपन्यासको आधातिर पुगेपछि नयाँ ठाउँ , नयाँ पात्रहरू (अझ उपन्यासको निम्ति महत्त्वपूर्ण) स्थापित हुँदा चाहिँ कस्तो कस्तो लाग्छ । यहाँ लेखकले उपन्यासमा युद्धको बारेमा लेखेँ र अचानक बीचमा पुगेपछि धर्मको बारेमा पनि लेख्नुपर्ने थियो भनेर सम्झिएर लेखे जस्तो भान हुन्छ । 

र अर्को कुरा उपन्यास डुक्पाको प्रेमको पनि कहानी भनिएपनि यो पाटो चाहिँ निकै कमजोर तरिकाले आयो कि जस्तो लाग्छ । सुक्मतिसँगको प्रेम मात्र दुई मेलामा भएको भेटमा मात्र सीमित देखिन्छ । मेला महोत्सवमा हुने एक ठट्यौली जस्तो मात्र १ किनभने जब डुक्पा ड्राइभर बन्न मधेस झर्छ , सुक्मतीलाइ यसको केही खबर नै हुँदैन र मधेसमा जीवन बिताइराख्दा पनि एकाध ठाँउमा बाहेक सुक्मतीको कुरा उल्लेख हुँदैन । तर जब उ फेरि पहाडतिर आउँछ त्यतिबेला सुकेको खोलामा अचानक बाढी आएजस्तो सुक्मतीको प्रेम , सुक्मतीको यादको उल्लेख हुन थाल्छ । 

त्यसपछि पनि सुक्मतीलाइ भेट्न जब डुक्पा (एक माओवादी) लारुम्बा जस्तो धार्मिक क्षेत्रमा पुग्छ जहाँ बाहिरी मान्छेलाइ आउनलाई निषेध नै गरिएको छ । अझ माओवादीसँग त युद्धकै स्थिति छ । त्यहाँ तान्छोहाङले डुक्पालाइ देख्छ  तर नि केही गर्दैन जुन अलि अचम्म लाग्छ । 

अँ , सुक्मतीलाई फकाउन जति कोसिस गर्दा पनि नमानेपछि उ फर्किन्छ । पछि तान्छोहाङले नेता कटकलाई छुटाउन गरेको सहयोगको साझा बिन्दु सुक्मती लागेपनि उनीहरू दुवैको युद्धप्रतिको वितृष्णाको कारण हुन्छ । यद्यपि उपन्यासको अन्त्य नै सुक्मती र डुक्पाको पुनर्मिलनमा भएपनि सुक्मतीको पात्रले उपन्यासको कथानकमा त्यस्तो महत्त्वपूर्ण भूमिका खेलेको लाग्दैन । 

यसरी हेर्दा महाभारा युद्ध , धर्म र प्रेमको त्रिकोणात्मक कथा भनेपनि युद्धकै कथा बढी देखिन गएको छ ।

यो पनि पढ्नुहोस

 
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update