
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुले बिहीबार काठमाडौंमा आयोजना गरेको आन्दोलन गणतन्त्र व्यवस्था प्रतिको वितृष्णा भएको सहभागीहरूले बताएका छन् । बिहीबार काठमाडौंको विभिन्न स्थानबाट र्यालीसहित आन्दोलनमा सहभागी भएकाहरूले सरकारका कारण बाध्य भएर सडकमा आउनुपरेको बताए । उनीहरूले गणतन्त्र फाल्नका लागि सडकमा आएको प्रतिक्रिया दिए ।
आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए । उनले देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएको बताए । उनले ‘राज्यले नै उत्पादन गरेको आन्दोलन हो यो । हामी सडकमा आउने चाहना थिएन । तर वर्तमान सरकारले बाध्य बनाएर सडकमा आएका हौं । देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएका हुन् ।’
त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए ।
उनले भने, ‘राजतन्त्र हुँदा नेपाल थियो, नेपालको स्वाधीनता थियो । अहिले नेपाली विदेशिनु परेको छ । अहिले गणतन्त्रले देश बिगारेको छ । गाँसबास कपासको लागि गाह्रो भएको छ । विद्यार्थीहरू १२ सक्किने बित्तिकै विदेशिन बाध्य छन् । त्यसैले गणतन्त्र फाल्नुपर्छ । राजा ल्याउन शुभ मुर्हुत आइ सकेको छ । नेपाली जनताले देखेका सपना पूरा हुनेछ ।’
त्यस्तै भक्तपुरका नानीराम लामिछानेले गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म सांस्कृति सबै नाश गरेको आरोप लगाए । यी सबै कुरा जीवित गर्न सडकमा आएको बताए ।
उनले भने,‘गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म संस्कृति सबै नाश भइसकेको छ । यी कुरा जीवित गर्नका लागि आन्दोलनमा आएका हौं । राजाका पालामा यस्तो थिएन । अहिले अन्याय, अत्याचारले सीमा नाघिसकेको छ । यही आन्दोलनले राजतन्त्र पूर्नस्थापना हुन्छ ।’
बानेश्वरबाट सहभागी भएकी सस्मिता सुवेदीले हिन्दु धर्मको लागि एजेन्डा बोकेर सडकमा आएको सुनाइन् । उनले गणतन्त्रवादीहरूले दिएको दुःख, गरेको भ्रष्टाचारका कारण नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताइन् ।
अर्का सहभागी सोमराज सिंहले गणतन्त्रको नाममा भ्रष्टतन्त्र मौलाएको बताए । अहिलेको गणतन्त्रले देशलाई बेचिसकेको आरोप लगाए । झापा विर्तामोडबाट आएका देवी काफ्लेले गणतन्त्रवादीहरुले जनतालाई सहि गणतन्त्रको परिभाषा दिएको भए नेपाली जनता सडकमा आउने अवस्था नहुने बताए । उनले विकासका नाममा लुटतन्त्र फैलिएको बताए ।
राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको आन्दोलनकारीको भनाइ थियो । प्रदर्शनमा सहभागीहरूले हिन्दु ‘राष्ट्र कायम गर, राज संस्था कायम गर, भ्रष्ट व्यवस्था चाहँदैन’ लगायतका नारा लगाएका थिए ।