
सुर्खेत - पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनि बसिरहेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलको पहलमा बिहीबार हुम्लामा राहत सामाग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामाग्री पठाइएको गौतमले बताए ।
पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
पहिरोबाट विस्थापितलाई पहिलो पटक बुधबार राहत सामग्री पुर्याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पुर्याइएको थियो ।