पाल्पा - पाल्पामा निरन्तरको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव भेटिएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव फेला परेको हो।
आज बिहान निरन्तर वर्षाका कारण पहिरो खस्दा लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले घर पुरिएपछि लिलबहादुर, उनकी छोरी दिना र छिमेकीकी छोरी झरना बेपत्ता भएका थिए।
घटनालगत्तै सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी तथा उद्धार सुरु गरेका थिए। उद्धार टोलीले पहिरोबाट तीनै जनाको शव निकालेको प्रहरीले जनाएको छ।
यसअघि आज बिहानै पाल्पाका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो।
बारीको ढिस्को खसेर घर पुरिँदा घाइते भएका चिदीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यस्तै, पहिरोमा पुरिएकी कृष्णकुमारी सारुको शव उद्धार टोलीले निकालेको थियो।
पहिरोमा परी मृत्यु भएका पाँचै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

