काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगले जबरासँग भेटेर अनुगमन गर्न गएको आफ्नो टोलीलाई प्रहरीले रोकेको भन्दै आपत्ति जनाएको हो।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा जबराको पक्राउसम्बन्धी घटनाको अनुगमनका लागि आयोगका माननीय सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आज टेकुस्थित प्रहरी परिसर पुगेको थियो। तर, नेपाल प्रहरीले आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको आयोगले जनाएको छ।
अनुगमनका लागि गएको टोलीलाई रोक लगाइएको विषयमा प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत आयोगको टोलीलाई अनुगमन गर्न नदिइएको कारणबारे जानकारी दिइएको आयोगले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ को खण्ड (क) मा आयोगलाई आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीले गरेको यस्तो व्यवहारप्रति आयोगले खेद व्यक्त गरेको छ।
आयोगले संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने क्रममा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

