
काठमाडौं - सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि पेशी तोकीएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन ।
पटक पटक हेर्न नमिल्ने हुँदै स्थगित भएको सुनुवाइ हिजो पनि हेर्न नमिल्नेमा परेको हो । पटक–पटक हेर्न नमिल्ने भएपछि आइतबार इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । तर सोमबार उक्त पेसी पाँचौँ पटक हेर्न नमिल्ने भएको थियो ।
यस अघि एक पटक पेशी सूचीबाट हटाइएको थियो । लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।