Harsamaya
बेरुजु  घटाउँदै जुम्लाका  स्थानीय तह

मुगु - जुम्लाका आठ स्थानीय तहको बेरुजु साढे ३० करोड रहेको देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीयतहको बेरुजु रकम कूल ३० करोड ५६ लाख ७४ हजार रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा कूल ३७ करोड बढी बेरुजु रहेको जुम्लाका आठ पालिकाले पछिल्लो आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएको देखिन्छ ।

३७ करोडबाट सात करोडले घटेर आर्थिक वर्ष २०८१/८२ मा वार्षिक बेरुजु रकम ३० करोडमा सीमित भएको छ । तर गत वर्ष कम बेरुजु भएका पालिकाको बेरुजु बढेको छ भने सबैभन्दा कम बेरुजु रहेका स्थानीय तहको बेरुजु घटेको छ ।

पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र  जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।

आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ । दोस्रोमा तातोपानी गाउँपालिका छ ।

गत आर्थिक  वर्ष कम बेरुजु आउनेमा प्रथम बनेको तातोपानी गाउँपालिका यस वर्ष एकतह घटेको छ । गत आर्थिक वर्षमा दोस्रो भएको हिमा गाउँपालिकाले पनि बेरुजु शून्यमा झार्ने लय समाउन सकेन भने गत आवमा सबैभन्दा बढी ९ बेरुजु भएको चन्दननाथले यश वर्ष उल्लेखनीय सुधार गर्दै बेरुजु कम गर्नेमा पहिलो पालिका बनेको हो ।

स्थानीयतहमा जनप्रतिनिधिको दबाब,वितरणमुखी कार्यक्रममा बढी लगानी, उत्पादनशील क्षेत्रमा लगानी न्यून हुनु र कर्मचारीले विधि पद्धतिअनुसार बजेट खर्चमा ध्यान नदिँदा बेरुजु बढ्ने गरेको छ।

महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार एक नगरपालिका सहित सात गाउँपालिकाले आर्थिक सुशासन कायम गर्न जोड दिएका छन् । प्रतिवदेन अनुसार आठ पालिकाको ३० करोड ५६ लाख बेरुजु छ । त्यस मध्य नियमित गर्नु पर्ने(विल भरपाई,कागजात अपुग), सैद्धान्तिक बेरुजु बढी देखिन्छ भने असुल उपर गर्नुपर्ने बेरुजु कम छ ।

गत आवको भन्दा सात करोडले बेरुजु घटेपछि आर्थिक सुशासनमा पालिकाहरू केन्द्रित हुन थालेको देखिन्छ । प्रतिवेदनअनुसार जिल्लाका आठ पालिका मध्य सबैभन्दा बढी गुठिचौर गाउँपालिकाको ४ करोड ३८ लाख ४३ हजार (६.१६) प्रतिशत बेरुजु रहेको छ । गत आवमा ५ करोड २१ लाख बेरुजु रहेकोमा यश वर्ष घटाए पनि अरू पालिकाको तुलनामा बढी हो ।

सबैभन्दा कम चन्दननाथ नगरपालिकाको ३ करोड १४ लाख ७६ हजार (२.४८) प्रतिशत बेरुजु छ । गत आवको तुलनामा चन्दननाथले ६ करोड बेरुजु घटाएको छ ।

त्यस्तै तातोपानी गाउँपालिकाको ३ करोड ८१ हजार अर्थात् कुल लेखा परीक्षण गरेको रकम मध्य (२.८१) प्रतिशत बेरुजु छ । जबकि तातोपानीको गत आवमा १ करोड ५४ लाख बेरुजु थियो । अहिले डेढ करोड बेरुजु बढेको छ ।

कनक सुन्दरी गाउँपालिकाको ३ करोड ९९ लाख ५५ लाख (४.०५) प्रतिशत, तिला गाउँपालिकाको ४ करोड ३३ लाख ३१ हजार (४.२७) प्रतिशत बेरुजु रहेको छ ।

साथै पातारासी गाउँपालिकाको ४ करोड २४ लाख १३ हजार (४.७१) प्रतिशत,सिंजा गाउँपालिकाको ३ करोड ९९ लाख ९० लाख (४.५७) प्रतिशत र हिमा गाउँपालिकाको ३ करोड ४६ लाख १५ हजार (३.८७) प्रतिशत बेरुजु रहेको छ । जबकि गत आवमा २ करोड६७ लाख बेरुजु थियो । घट्नको सट्टा हिमाको करिब एक करोड बेरुजु बढेको छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले गत आवमा सबैभन्दा कम बेरुजु आएको र यश वर्ष शून्यमा झार्ने लक्ष्य राखिए पनि केही प्रक्रियागत त्रुटिले समस्या भएको बताए । उनका अनुसार असुल उपर गर्नु पर्ने,नियमित गर्ने बेरुजु सबै प्रक्रियाअनुसार पूरा गरिने छ ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बेरुजु कसरी कम गर्ने कुरा कर्मचारीमा भर पर्ने बताए । अहिले नयाँ हाकिम आएको र जनप्रतिनिधि र कर्मचारीको समन्वय सहकार्य प्रभावकारी भइरहेकोले आगामी वर्षमा बेरुजु घटाउने गरी काम गरिने उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update